झापा। 

झापामा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिलासहित तीन जना रहेका छन् । दमकका दुई युवा र बिर्तामोडस्थित बिर्ताबजारकी एक युवती रहेका छन् । 

बिहीवार साँझ ५ः३० बजे झापा गाउँपालिका–५ सिलमडाँगीमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०२–०४२ प ३२४५ नम्बरको मोटरसाइकलका चालक दमक–६ का १९ वर्षीय बिमल कार्कीलाई शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उनको साथबाट कालो प्लाष्टिकमा पोका पारी ल्याएको प्लाष्टिक प्लाष्टिकबाहेक १४ ग्राम ०४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । सोही मोटरसाइकलमा पछाडि सवार दमक –१ का २० वर्षीय सन्देश कुमालसमेतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

त्यस्तै बिहीवार दिनको ४ बजे भद्रपुर–५ नयाँ बजारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पैदलयात्री बिर्तामोड–३ बिर्ताबजारकि २२ वर्षीया पुष्पा परियारलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

उनलाई शंका लागेर चेकजाँच गर्दा उनले पेटभित्र प्लाष्टिकको पोको पारी लुकाई छिपाई राखेको प्लाष्टिकबाहेक २ ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई पनि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको र तीनै जनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।