बिर्तामोड । 

बिर्तामोड उद्योग वाणिज्य संघले उद्योगी–व्यवसायीलाई आपत विपत्का बेला राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको ‘व्यवसायी सदस्य राहतकोष’ मा संघका कोषाध्यक्ष तथा युवा व्यवसायी युवराज निरौलाले पुनः सहयोग गरेका छन् ।

आफ्नो जन्मदिनको अवसर पारेर निरौलाले कोषमा रु। ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेका हुन् । यसअघि पनि दुई पटक जन्मदिनकै अवसरमा कोषमा आर्थिक सहयोग गरेका निरौलाले यस वर्ष समेत सहयोग गर्दै राहतकोषप्रतिको आफ्नो प्रतिबद्धता दोहो¥याएका छन्  ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने नेतृत्वको कार्यसमितिले उद्योगी–व्यवसायीको दुःख, संकट तथा आकस्मिक परिस्थितिमा साथ दिने उद्देश्यले ‘व्यवसायी सदस्य राहतकोष’ स्थापना गर्ने निर्णय गरेको थियो । कोषलाई दीर्घकालीन र प्रभावकारी बनाउने लक्ष्यसहित एक करोड रुपैयाँको अक्षय कोष निर्माण गर्ने योजना अघि सारिएको छ ।

राहतकोष सञ्चालन तथा व्यवस्थापनका लागि संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’को संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ । समितिले कोषमा आर्थिक स्रोत जुटाउने, व्यवस्थापन गर्ने तथा आवश्यकताका आधारमा राहत वितरण गर्ने जिम्मेवारी पाएको छ ।

संघका पदाधिकारीका अनुसार कोष स्थापना भएपछि सबैभन्दा पहिले आर्थिक सहयोग गर्ने व्यक्ति पनि युवराज निरौला नै हुन् । उनले प्रारम्भमै रु। ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्दै कोषको शुभारम्भ गराएको संघका महासचिव कुशल खतिवडाले जानकारी दिए ।

त्यसयता निरन्तर रूपमा सहयोग गर्दै आएका निरौलाले यस वर्षको जन्मदिनमा समेत सोही रकम प्रदान गरी कोषप्रति आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिएका छन् ।

संघले निरौलाको योगदानको उच्च मूल्यांकन गर्दै धन्यवाद ज्ञापन गरेको छ । राहतकोषको स्थापना तथा सुदृढीकरणमा पु¥याएको योगदानको कदरस्वरूप संघका तर्फबाट उनलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ । सम्मान पत्र संघका अध्यक्ष न्यौपानेले प्रदान गरेका थिए ।

संघले व्यवसायी सदस्य राहतकोषलाई उद्योगी–व्यवसायीबीचको आपसी सहकार्य, सहानुभूति र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिँदै सबै सदस्य, व्यवसायी तथा शुभेच्छुकलाई कोषमा सहयोग गर्न आग्रह गरेको छ ।

कोषमा पर्याप्त रकम संकलन भएपछि दुर्घटना, बिरामी, प्राकृतिक विपत्ति तथा अन्य आकस्मिक समस्यामा परेका सदस्य व्यवसायीलाई राहत र सहयोग उपलब्ध गराउने संघको योजना रहेको छ ।  यसैबीच, बिर्तामोड उद्योग वाणिज्य संघले निरौलालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उनको सुस्वास्थ्य, दीर्घायु, पारिवारिक सुख–समृद्धि तथा व्यवसायिक सफलताको कामना गरेको छ ।