चारपाने ।
झापाको बिर्तामोड–२ स्थित चारपानेको जेम्स फिट्नेस सेन्टरले बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित भाइरल सिरिस आसपास क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरेको छ । एक बर्षअघि सञ्चालनमा आएको फिटनेस सेन्टरले ‘ लागू औषध विरुद्धको युवाहरुको शान, सरसफाई हाम्रो अभियान’ भन्ने मुल नाका साथ पछिल्लो समय सामाजिक कार्य तथा गतिविधिलाई निरन्तरता दिदै आएको छ ।
केहीदिन अघि घुम्न जाँदा भाइरल सिरिस आसपास क्षेत्रमा निक्कै फोहोर मैला देखेपछि त्यहाँको स्थानीय तथा तथा जनप्रतिनिधिहरुले खासै चासो नदेखाएको अनुभव महसुस गरेर आज (आइतवार) फिटनेसको टोलीसहित सरसफाई अभियान सञ्चालन गरेको फिटनेस सेन्टरका सञ्चालक जिम्स उप्रेतीले बताए । उनका अनुसार भाइरल सिरिस आसपासको क्षेत्रमा आउने बाह्य तथा आन्तरिक पर्यटकले फाल्ने फोहोरले सो क्षेत्र अस्वास्थ्य बन्ने भएको र सो क्षेत्रका जनप्रतिनिधिले त्यस बिषयमा चासो देखाउने आवश्यक छ ।
सञ्चालक उप्रेतीको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा प्रकाश भट्टराई, कान्छा तामाङ, संजय बस्नेत, निशा तामाङ उप्रेती, परि दाहाल, एलिजा दाहाल, आशिष नेपाल, इन्द्रबहादुर तिम्सिना, दीपक सिदे, बर्षा राई, प्रमिला राई, शर्मिला राजवंशी, कल्पना निरौला, सिद्धार्थ मगर र निर्मला दाहाललगायतको टोली सहभागी रहेको बताइएको छ ।
उपैतीले टाढा–टाढाबाट पनि यो महान तथा सामाजिक अभियान जोडिन सक्ने बताए । आफुले फिटनेस सेन्टरलाई व्यवसाय मात्र नभएर सामाजिक कार्यलाई पनि जोड्ने उदेश्यले सञ्चालन गरेको उनको भनाई छ । उनले सवै युवायुवतीलाई आफ्नो अभियानमा जोडिएर सामाजिक गतिविधिमा सहभागी हुनसमेत आग्रह गरेका छन् ।
सेन्टरले कुनैपनि राजनीतिक दल, धार्मिक तथा सांस्कृति समुह, जातीय संघसंगठनसँग नजोडिई सवै युवाहरुलाई समेटेर समाज सुधारका लागि सामाजिक कार्य गर्दै आएको सञ्चालक उप्रेतीको भनाईछ । फिटनेस सेन्टरले स्थापनाकै समयदेखि लागूऔषध विरुद्धको अभियान, बिर्तामोड–२ स्थित चारपाने तथा बिर्तामोड आसपास क्षेत्रमा सरसफाई अभियान, गत वडा दशैंका शुभकामना आदान–प्रदान कार्यक्रम, सार्वजनिक खुल्ला तीज विशेष कार्यक्रम, रक्तदान कार्यक्रम गरिसकेको र आज भाइरल सिरिस आसपास क्षेत्रमा पनि सरसफाई कार्यक्रम सम्पन्न गरेको सेन्टरका सञ्चालक उप्रेतीले बताएका छन् ।


















