झापा ।
झापा कनकाई नगरपालिका–५ चप्रामारीमा धारिलो हतियार प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन् । शुक्रवार साँझ ६ः१० बजेको समयमा बाह्रदशी गाउँपालिका–७ का अन्दाजी ३० बर्षीय सुर्यलाल राजवंशीलाई पूर्व रिसिवीका कारण बाटोमा हिडिरहेको अवस्थामा हतियार प्रहार भएको हो ।
कनकाई नगरपालिका–५ तुलसीबारीका अन्दाजी २५ बर्षीय दिपक बिष्टले धारिलो हतियार दाउले प्रहार गरी राजवंशीलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घट्नाबारे जानकारी प्राप्त हुना साथ तत्काल इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले दाउसहित प्रहार गर्ने बिष्टलाई नियन्त्रणमा लिएको थियो ।
उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको छ । घाइते राजवंशीको कनकाई नगर अस्पताल सुरुङगामा उपचार भईरहेकोमा थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


















