बिर्तामोड ।
१९ औ गणतन्त्र दिवसको अवसर पारेर वीरता जेसीजको आयोजनामा झापाको बिर्तामोड स्थित टावर टेम्पल स्कुलमा ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ः उपलब्धि र चुनौती’ विषयक अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।
युवाहरूमा नेतृत्व, अभिव्यक्ति कला तथा राष्ट्रिय चेतनाको विकास गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा बिर्तामोड नगर क्षेत्रका संस्थागत तथा सामुदायिक गरी करिब २३ वटा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतियोगितामा इन्भेन्चर विद्यालयकी छात्रा प्रश्ना प्रसाई प्रथम हुन सफल भइन् । त्यसैगरी एभरेष्ट विद्यालयकी आरुशी शिवाकोटी द्वितीय, कञ्चनजंघा विद्यालयकी तिलश्मी न्यौपाने तृतीय तथा न्यूटन्स स्कुल की किन्जन पोखरेलले सान्त्वना स्थान हासिल गरेकी थिइन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः नगद रु. ५ हजार, रु. ३ हजार र रु. २ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै सान्त्वना पुरस्कार स्वरूप नगद रु. १ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी सम्पूर्ण प्रतियोगीहरूलाई समेत सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी देवु बानियाँ तथा राधिका ओली रहेका थिए ।
वीरता जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौला प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि संग्रौला, इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष पाठक, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, वीरता जेसिजका पूर्व अध्यक्ष सिनेटर अध्यक्ष घनश्याम चौधरीलगायतले गणतन्त्र दिवसको अवसरमा युवाहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व, आत्मविश्वास तथा राष्ट्रिय चेतना विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
कार्यक्रममा स्वागत कार्यक्रम संयोजक प्रभास थापा मगरले राखेका थिए भने जेसी आस्था वाचन अजयकुमार चौधरीले गरेका थिए । कार्यक्रमको सञ्चालन तालिम आयुक्त बिज्ञाराज पौडेल तथा वीरता जुनियर जेसीजकी महासचिव जुजेसी बिनिता आचार्यले संयुक्त रूपमा गरेका थिए ।
प्रतियोगिता बिर्तामोड नगर शिक्षा शाखा र बिर्तामोड नगर प्याब्सनको संयोजन, नेको इन्सुरेन्स लिमिटेडको इन्सुरेन्स पार्टनर तथा धौला इन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन प्रालिको सहयोगमा सम्पन्न भएको कार्यक्रम व्यवस्थापन संयोजक जेसी विजय लिम्बुले जानकारी दिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई,गुरु छठ समाज सेवा समितिका महासचिव अशोक चौधरी को, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, अभिभावक, बिद्यार्थीलगायतको उल्लेखिय उपस्थिति रहेको थियो ।


















