झापा । 

झापाको कचनकवल गाउँपालिकामा आगलागी दुई वटा घर जलेर नष्ट हुँदा अन्दाजी १७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कचनकवल–५ डाँगाबारीका मैरदिन मियाँको घरमा बुधबार दिउँसो करिब १२ः२० बजे आगलागी भएको थियो ।

टिनको छाना र प्लास्टिकले बनेको भान्सा घरमा विद्युत् तार सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । आगलागीबाट भान्सा घरभित्र रहेको अन्नपात, भाँडा कुडा दाउरा लगायतका सामग्री जलेर नष्ट भएका छन् । यसबाट करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

मैरदिनको घरबाट फैलिएको आगोले उनका दाजु मैनुदिन मियाँको मूल घरसमेत जलेको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्र रहेका अन्नपात, चामल, लत्ताकपडा, नगद, जिन्सी सामग्री, सुनचाँदी, भाँडाकुँडा तथा काठसमेत नष्ट हुँदा करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल डाँगाबारी, भद्रपुर नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा दिउँसो १ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।