बिर्तामोड । 

नेपाल पत्रकार महासंघ झापा शाखाको बार्षिक साधारणसभा सम्पन्न भएको छ । झापाको बिर्तामोडमा आज (सोमवार) साधारण सभा सम्पन्न भएको हो । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ केन्द्रका कार्यबहाक अध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत महासंघ झापा उपाध्यक्ष सुव्रत न्यौपानेले गरेको कार्यक्रममा अध्यक्ष गिरीले महासंघ झापाले बर्षदिन भरी गरेका कार्यक्रमका बिषयमा जानकारी गराएका थिए । उनले बर्तमान सरकारले स्थानीय मिडियालाई कुण्ठित गर्न बिज्ञापन सरकारी मिडियालाई मात्र दिने कदम गलत भएको बताएका छन् । गिरीले सामाजिक सञ्जालमा आएका सवै कुरा समाचार र सूचना नहुने भन्दै सहि र गलत छुट्याउन आवश्यक रहेको बताए । उनले सरकारी निकायमा दर्ता र सुचिकृत भएर सञ्चालनमा रहेका आधिकारिक समाचार र सूचनाको पहिचान गर्न पनि सवैमा आग्रह गरेका छन् ।  

प्रमुख अतिथि आचार्य, महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाई, अग्रज पत्रकार चन्द्र भण्डारी, महासंघ मोरङ अध्यक्ष सुशिला पाठक, प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापा अध्यक्ष पुष्प खड्कालगायतले शुभकामना मन्तव्य राख्दै बर्तमान सरकारले सरकारी मिडियालाई मात्र बिज्ञापन दिने निर्देशनप्रति आपत्ति जनाएका थिए । 

प्रमुख अतिथि आचार्यले सरकारी मिडियालाई मात्र एकलौटी रुपमा सूचना दिने सरकारको कदमको बिरोध गर्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् । निजि मिडियाले स्थानीय स्तरमा सहि सूचना दिने गरेको बताउँदै आचार्यले सरकारी बिज्ञापन निजि मिडियालाई नदिने सरकारको कदमले पत्रकार भन्दा पनि स्थानीय स्तरका जनता सूचनाबाट कुण्ठित हुनेमा दुईमत नरहेको बताए । 

उनले राष्ट्रिय मिडियामा प्रकाशन हुने ठेक्का पट्टाका सूचनामाहरुमा कमिशनको खेल हुने र त्यसलाई सरकारले रोक लगाएको बताउँदै त्यसको बहाना बनाएर स्थानीय मिडियालाई पनि लोककल्याणकारी सूचना रोक लगाउनु गलत र लोकतन्त्रबिरोधी कदम भएको बताएका छन् । 

सोही कार्यक्रममाबिच भद्रपुर प्रेस क्लव, रक्तदान कार्यक्रममा सहभागी भएर १२१ औं पटकसम्म रक्तदान गरेको भन्दै हल्दीवारी प्रेस क्लवका अध्यक्ष नेत्रबिक्रम बिमली, पत्रकार महासंघलाई सहयोग गरेको भन्दै शिक्षक तथा पत्रकार रन्जित परियार र लैङ्गिक पत्रकारितामा सक्रिय रहेको भन्दै गृष्मा सापकोटालाई सम्म्मानसमेत गरिएको थियो । त्यस्तै कार्यक्रममा महासंघ झापाले प्रकाशन गरेको चौथो अङ्ग म्यागजिनको समेत बिमोचन गरिएको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव राजु पाठकले गरेका थिए ।  

महासंघ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषलाई दुई करोड पुर्याउने उदेश्य राखेको छ । सोही कार्यक्रममा पनि दाताहरुले कोषलाई सहयोग गरेका छन् । हाल उक्त कोषमा करिव एक करोड ३२ लाख रुपैयाँ रहेको र आगामी दिनमा २ करोड पुर्याउने अध्यक्ष गिरीले जानकारी दिएका छन् ।