बिर्तामोड । 

बिर्तामोडको गन्तव्य डान्सबारमा लफडा भएको छ । गएराति १ः३० बजे बिर्तामोड २ स्थित गन्तब्य डान्सबारमा लफडा भएको हो । बाउन्सरको कुटपिटमा मेचीनगर–१ का २० बर्षीय सिद्धार्थ शाही र सोही स्थान ३० बर्षीय कर्ण राई घाइते भएका छन् । घाइतेहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने एकजना फरार भएका छन् । पक्राउ पर्नेहरुमा मेचीनगर–१२ का २१ बर्षीय निशान लामा, सोही स्थानका २२ बर्षीय प्रशान्त लिम्बू र भद्रपुर–८ का २२ बर्षीय नित्य राजवंशी रहेका छन् ।

त्यस्तै अर्जुनधारा नगरपालिका वडा नखुलेको २० बर्षीय लाक्पा तामाङ फरार भएका छन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । डान्सबारमा झगडा भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो ।

गन्तव्य डान्सबारमा पटक–पटक लफडा हुँदै आएको छ । निर्भिक शिवाकोटी सञ्चालक रहेको त्यस डान्सवार अनुमतिबिना बिहानको ४ बजेसम्म सञ्चालन गर्दा त्यहाँ अहिलेसम्म करिव ८ पटक त्यस किसिमको झडप भइसकेको बताइएको छ ।