झापा l
हजारौँ समर्थकको उपस्थितिमा झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले उम्मेद्वारी दर्ता गराएका छन् । उनको उम्मेद्वारी मनोनयन दर्तासंगै उनका समर्थक उत्साहित देखिएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेनले मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय आउँदा हजारौ समर्थक निकै उत्साहित देखिएका थिए ।
गोर्खा डिपार्टमेन्ट स्टोरबाट सुरु भएको रास्वपाको ¥याली दमक–८ स्थित कृषि भवनमा रहेको निर्वाचन कार्यालयसम्म पुगेको थियो । सोही कार्यालयमा बालेनले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन अधिकृत विदुरकुमार कार्कीले बालेनको उम्मेदवारी दर्ता गरेका थिए ।
¥यालीका क्रममा सडकभरि समर्थकहरूको भीड देखिएको थियो । नाराबाजी, ब्यानर र प्लेकार्डसहित अघि बढेको ¥यालीले दमक क्षेत्र केही समय चुनावी माहोलले ढाकिएको थियो । मनोनयन दर्ता कार्यक्रममा देखिएको व्यापक जनउपस्थितिले बालेनको पक्षमा बलियो जनसमर्थन रहेको सन्देश दिएको रास्वपाका नेताहरूको भनाइ छ ।
बालेनको पक्षमा देखिएको जनउभारलाई लिएर सामाजिक सञ्जालमा पनि विभिन्न प्रतिक्रिया आएका छन् । केही प्रयोगकर्ताहरूले प्रतिष्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ‘चिन्तित देखिन सक्ने’ भन्दै टिप्पणी गरेका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनमार्फत राष्ट्रिय राजनीतिमा औपचारिक रूपमा पाइला अघि बढाएका बालेन जता गए पनि ठूलो भीड लाग्ने गरेको देखिएको छ । समर्थकहरूको यस्तो उत्साहजनक साथले झापा–५ को चुनावलाई देशकै सबैभन्दा चासोपूर्ण निर्वाचन क्षेत्रमध्ये एक बनाएको स्थानीय विश्लेषकहरूको भनाइ छ ।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै बालेनले जनताले देखाएको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै झापा–५ बाट परिवर्तनको राजनीति सुरु हुने दाबी गरे । उनले शान्तिपूर्ण र मर्यादित ढंगले चुनावी प्रतिस्पर्धामा होमिने प्रतिबद्धता पनि जनाए ।
यसैबीच दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओलीविरुद्ध रास्वपा कार्यकर्ताहरुले नाराबाजी गरेपछि झडप भएको बताइएको छ ।
अहिले पनि त्यहाँको अवस्था तनावपूर्ण रहेको छ । झापा ५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो । सोही क्रममा कार्यकर्ताहरुले ओलीविरुद्ध नाराबाजी गरेका थिए ।


















