झापा ।  

झापाको पुरानो चर्चित बजार बैगुनधुरा झमकचोकमा गिरिजाप्रसाद कोइराला सामुदायिक भवन निर्माण हुने पक्का भएको छ । गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान बैगुनधुराले निर्माण गर्ने सो भवनको कांग्रेस कोशी प्रदेश सभापति उद्धब थापाले शिलान्यास गरेका छन् । 

जग्गादाता महेन्द्र चम्लागाईंले निःशुल्क उपलब्ध गराएको दुई कठ्ठा जमीनमा शिलान्यास गरिएको सो भवन ५० फुट लामो र ३० फुट चौडाइको हुने प्रतिष्ठान अध्यक्ष उत्तमबहादुर चम्लागाईंले बताए । माघको पहिलो साताबाट निर्माण प्रारम्भ हुने सो एकतले भवनमा कार्यालय कोठा र शौचालय समेत रहनेछ । 

भवन निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने र जुटाउने क्रम जारी छ । प्रतिष्ठानको आजीवन सदस्यबाट शुल्क जनही  पाँच हजार रुपैयाँ निर्धारण गरिएको छ । अहिलेसम्म २० जना बढी व्यक्तिले आजीवन सदस्यता लिइसकेका छन् । प्रतिष्ठान अध्यक्ष चम्लागाईंले भवन निर्माणका लागि सहयोगको अपील समेत गरेका छन् । सो क्षेत्रमा सार्वजनिक कार्यक्रम गर्न कायम  विद्यमान असहजता भवन निर्माणसँगै हट्ने अध्यक्ष चम्लागाईंले विश्वास व्यक्त गरे । 

किरण भट्टराईको अध्यक्षतामा २०६७ सालमा  गठन प्रतिष्ठानले विभिन्न सामाजिक कार्य गर्दै आएको थियो। अघिल्लो महिना चम्लागाईं अध्यक्ष बनेसँगै सामुदायिक भवन निर्माणका लागि जग्गाको प्रबन्ध र शिलान्यास गरिएको हो । 

भवन शिलान्यास कार्यक्रममा बैगुअनधुराको डाँडागाउँको भलभद्र आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सो विद्यालयलाई घण्टी, विज्ञान सामग्री, नेपालको नक्शा लगायत सामग्री वितरण गरिएको अध्यक्ष चम्लागाईंले जानकारी दिए । बलभद्र लोपोन्मुख सन्थाल समुदायका विद्यार्थीको बाहुल्यता रहेको विद्यालय हो । 

सोही कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश श्रमिक तथा ट्रेड युनियन विभागले झापा क्षेत्र नम्बर ४ का २५ सामुदायिक  विद्यालयमा  सञ्चालन गरेको हिज्जे तथा निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई प्रमाणपत्र र सो कार्यमा सहयोग गर्नु हुने ३० जना शिक्षकलाई ‘सफलताको पाना’ मायाको चिनो प्रदान गरिएको थियो। 

भवन शिलान्यास कार्यक्रम जेहेन्दार विद्यार्थी प्रोत्साहन पुरस्कारद्वारा लक्ष्मीनारायण माविका छात्रा प्रिया दर्नाललाई नगद १० हजार प्रदान गरिएको छ । दर्नाल सो माविबाट एईई उत्तीर्ण गर्ने जेहेन्दार विद्यार्थी छन् । कार्यक्रममा बैगुनधुरा कीर्तन मण्डली सहयोग स्वरुप डायरी हस्तान्तरण गरिएको सामुदायिक भवन निर्माण समितिका अध्यक्ष दिवसपति पोखरेलले बताए।  

कार्यक्रममा कांग्रेस झापा सभापति देउकुमार थेवे, महासमिति सदस्य सीताराम भट्टराई, प्रतिष्ठानका उपाध्यक्ष खेम प्रसाईं, सचिव कुवेरपति पोखरेल लगायतले भवन निर्माणले गिरिजाप्रसाद कोइरालाको योगदानको स्मरणलाई चिरस्थायी बनाउने बताए । उनीहरुले सामाजिक कार्यमा सर्वपक्षीय सहयोग जुट्ने विश्वास व्यक्त गरेका छन् ।