बिर्तामोड । 

नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले झापाली जनताले बालेन शाहको जमानत जफत गरिदिने बताएका छन् । झापा –५ बाट निर्वाचन लड्ने बालेन शाहको सपनालाई जमानत जफत गरेर देखाइदिने चेतावनी दिए । सरकारविरुद्ध नेकपा एमाले झापाले आयोजना गरेको खवरदारी कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पाठकले बालेन शाहका लागि झापा अत्यन्तै दुखद र अशुभ हुने बताए । 

उनले असंवैधानिक सुशिला कार्की नेतृत्वको सरकारलाई घुँडा टेकाएर छोड्ने गरी एमाले सडकमा आएको बताएका छन् । विदेशी शक्तिहरुको इसारामा देशलाई सिध्याउने खेल स्वीकार्य छैन, उनले भने – एमालेले संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याएर छोड्नेछ । नेता पाठकले संसद् पुनस्र्थापना नभएसम्म मुलुकले निकास नपाउने धारणा व्यक्त गर्दै पुनःस्र्थापना नभएसम्म सडक नछोड्ने चेतावनी दिए । उनले देशको रक्षाका लागि आम जनतालाई समेत सडकमा आउने आव्हान गरेका छन् । 

यस्तै, पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीले विदेशीको इसारामा देश चलाउनेहरुलाई तह लगाउन एमाले टाउकोमा काक्रो बाँनेर सडकमा निस्किएको बताए । उनले संविधान मिच्ने, विदेशीको गतिविधि टुलुटुलु हेरेर नसक्ने बताउँदै खवरदारी गरेका छन् । नेपाली जनतामाथि गिद्धे दृष्टि लगाए प्रतिकार गरेर देखाइदिने चेतावनी दिए ।

एमाले संविधान संशोधन गरेर भए पनि देशलाई निकास दिन तयार रहेको बताउँदै अध्यक्ष गिरीले संसद पुनःस्र्थापना अनिवार्य भएको बताए । एमाले चुनावबाट कहिल्यै भाग्दैन, उनले भने – एमाले जनताको सबैभन्दा लोकप्रिय पार्टी हो । अघिल्लो निर्वाचनमा एमालेविरुद्ध सबै एक हुँदा पनि सबैभन्दा लोकप्रिय मत ल्याएको हो ।

नेताहरुले यो सरकारले निर्वाचन गर्न नसक्ने दावी गरेका छन् । दमकको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य देवेन्द्र दाहालले कानुन बनाउन र हरेक मुद्धाको फैसला गर्न जनताबाट निर्वाचित संसद पुर्नजिवित गर्नुपर्ने बताए । 

एमालेका लागि मात्र नभएर अन्य पार्टी र जनताका लागि संसद विघटन मान्य नभएको उनको भनाई थियो । जेनजीले उठाएका माग पुरा गर्न र सर्वपक्षीय सरकार गठन गर्न पहिला संसदबाट संविधान संशोधन गरी सो कुरा संविधानमा व्यवस्था गर्नुपर्ने भएकोले संसद पुनःस्र्थापना आवश्यकता भएको बताए ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत दलका नेताहरुलाई स्थानहद कायम गरेर चुनाव गराउछु भन्दै सरकारले नाटक मात्र गरेको उनको धारणा थियो । एमालेले खबरदारीको शुरुवात मात्र गरेको हो , उनले भने –संविधानको कुनै धाराले प्रधानमन्त्री सुशिला कार्कीलाई चिन्दैन । त्यसैले तत्काल यो सरकारलाई हटाउनुपर्छ ।  एमालेले झापाको बिर्तामोड र दमकमा एकैदिन सरकारविरुद्ध खवरदारी गरेको हो । बजार परिक्रमा गरेर कोणसभा गरिएको थियो ।