बिर्तामोड । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १२ गते झापाको बिर्तामोडमा जनजागरण सभा गर्ने भएको छ । बिर्तामोडमा आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गरी राप्रपाले जनजागरण सभाको तयारी बारेमा जानकारी दिएको हो । राप्रपा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले जेनजी आन्दोलनपछि राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीको धारणा, दृष्टिकोण र मुलुकको पछिल्लो अवस्थाबारे आमनागरिकलाई जानकारी गराउन जनजागरण सभा गर्न लागिएको जानकारी दिए ।

जनजागरण सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए । जनजागरण सभामा झापाका १५ वटा स्थानीय तहका १३१ वटै वडाका सहभागी आउने जनाइएको छ ।

जनजागरण सभामा सभ्य र मर्यादित तवरले सम्पन्न गरिने झापा अध्यक्ष ओझाले बताए। जनजागरण सभाका लागि विभिन्न उपसमिति गठन गर्नुका साथै जिल्ला प्रशासनबाट अनुमति समेत लिइएको पार्टीले जनाएको छ ।

जनजागरण सभाका लागि पूर्वबाट पार्टी नेतृ सबिना बजगाईंको नेतृत्वमा, पश्चिमबाट पार्टीका प्रदेश अध्यक्ष राम थापा, उत्तरतर्फको केन्द्रीय प्रवक्ता भक्ति सिटौला र दक्षिणतर्फको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्लेदेनले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।राप्रपा झापाले पार्टीको जिल्ला प्रवक्ता सूर्य खतिवडालाई जिम्मेवारी प्रदान गरेको छ । पार्टीको बैठकले खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिएको अध्यक्ष ओझाले बाए।

प्रवक्ताको जिम्मेवारी पाएका खतिवडाले पार्टीका गतिविधिलाई थप सशक्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । पत्रकार सम्मेलनमा राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतम, राप्रपा ट्रेड युनियन महासंघ केन्द्रीय सह अध्यक्ष बसन्त रिमाल, विद्यार्थी संगठनका केन्द्रीय सदस्य यमन भुर्तेल लगायतको उपस्थिति रहेको थियो ।