बिर्तामोड ।
प्रजातान्त्रिक आन्दोलनका सहिद उद्रकान्त राजवंशीको अर्धकदको शालिक शनिबार झापाको बिर्तामोड नगरपालिका–९, साविक गरामनीमा अनावरण गरिएको छ ।
सहिद उद्रकान्त राजवंशी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा शालिक अनावरण पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, जग्गादाता पुल्की राजवंशी र नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले संयुक्त रूपमा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको भनाइ स्मरण गर्दै विचार कहिल्यै नमर्ने बताए । ‘इतिहास म¥यो भने विचार पनि मर्छ,’ उनले भने, ‘सहिद उद्रकान्तको इतिहास जोगाउनु भनेको कांग्रेसको इतिहास जोगाउनु हो । उहाँको विचार आज पनि अमर छ ।’
उद्रकान्त राजवंशीले आफ्नो जीवन त्यागेर भए पनि नेपाली कांग्रेस र प्रजातान्त्रिक मूल्यलाई जिवन्त राख्ने प्रयास गरेको उल्लेख गर्दै थापाले सिंगो राजवंशी परिवारको योगदान कांग्रेस आन्दोलनमा स्मरणीय रहेको बताए । कार्यक्रमका सभापति समेत रहेका प्रतिष्ठानका अध्यक्ष खगेन्द्र मैनालीले सहिद उद्रकान्तको जीवनी, स्मृति प्रतिष्ठान स्थापना हुनुको उद्देश्य र हालसम्म भएका गतिविधि तथा प्रगतिबारे जानकारी गराएका थिए ।
सहिदप्रति श्रद्धाञ्जली कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पूर्व राष्ट्रिय सभा सदस्य डिल्ली सिटौला,संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे, बिर्तामोड नगरसभापति भोजराज सिटौला,सम्मानित व्यक्तित्वका तर्फबाट उत्तम कटुवाल, परिवारका तर्फबाट नातिनी ज्वाइँ चण्डौल राजवंशी, र सहिद परिवारका तर्फबाट नारायणसिंह राजवंशीले सहिद उद्रकान्तको योगदान र बलिदानको स्मरण गरेका थिए ।
संविधान सभा सदस्य शिवाकोटीले उद्रकान्त राजवंशीको हत्या भएको समय झापाको इतिहासमै कहालीलाग्दो रहेको उल्लेख गर्दै त्यो बेला राजवंशी परिवारले भोग्नुपरेको पीडादायी अवस्थाको चित्रण गरे । नेपाली कांग्रेस झापाका सभापति थेवेले कांग्रेसको जिल्ला अधिवेशन समयमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउँदै सहिद परिवार र प्रतिष्ठानका लागि जग्गा दान गर्ने परिवारप्रति विशेष धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा सहिद उद्रकान्त राजवंशीकी पत्नी तथा प्रतिष्ठानकी जग्गादाता पुल्की राजवंशी, छोरीहरू ठूसोवाला राजवंशी र जानकी राजवंशीलाई सम्मान गरिएको थियो ।
त्यस्तै नेपाली कांग्रेस बिर्तामोड–९ बाट वंगाली राजवंशी, साउनिया राजवंशी, सर्मिला राजवंशी, ध्रुवलाल राजवंशी र अमरबहादुर मादेन, बिर्तामोड–८ बाट भक्ति बराल, उदय कुँवर, शंकर काफ्ले, देवीबहादुर कार्की र होमनाथ अधिकारी, बिर्तामोड–७ बाट कृष्णप्रसाद सिटौला, रत्नकुमार श्रेष्ठ र गणेश चौधरीलाई सम्मान गरिएको थियो ।
स्मृति प्रतिष्ठानका लागि जग्गा प्रदान गर्ने स्व। धनलाल राजवंशी, सहिदकी पत्नी पुल्की राजवंशी, छोरा–बुहारी दिनेश–सुशीला राजवंशी, सन्तोष–अनु राजवंशी, काका स्व। किरण–अनिमा राजवंशी, छोरीहरू रिता राजवंशी र कोपिला राजवंशीलाई पनि सम्मान गरिएको थियो । त्यस्तै सहिदका छोरीहरू ठूसोवाला र जानकीसँगै अग्रज व्यक्तित्व नारायण वंगाली र साउनियर राजवंशीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रञ्जिता कार्की, मिरा खड्का, जिल्ला सचिव कृष्ण हुमागाईं, कोषाध्यक्ष जलकुमार गुरुङलगायत नेता–कार्यकर्ता, नागरिक समाज र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन झापा क्षेत्र नं। २ प्रदेश ‘क’ का सभापति लक्ष्मीप्रसाद आचार्यले गरेका थिए भने प्रतिष्ठानका सचिव वासु अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।


















