झापा ।
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज (आइतबार) नयाँ नेतृत्व चयनका बन्दसत्र सञ्चालन हुने पार्टीले जनाएको छ । काठमाडौँको भृकुटीमण्डपमा आज बिहान साढे ७ बजेदेखि बन्दसत्र सुरु हुँदैछ ।
शनिबार भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित महाधिवेशनको उद्घाटन गरिएको थियो । एमाले आजबाट नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको हो । बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ ।
देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरू मध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उप–महासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।
महाधिवेशनका लागि हालका सबै पदाधिकारी समेटिएको अध्यक्ष मण्डल गठन भइसकेको छ । त्यस्तै, महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उप–महासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।
नेतृत्व चयनका लागि सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको एमालेले जनाएको छ । सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ । त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ, जसको परीक्षण शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरिएको थियो ।

















