बिर्तामोड ।
प्रतिगामी षड्यन्त्रका विरुद्ध र विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित नेकपा (एमाले) जिल्ला कमिटी झापाले आज (शनिवार) बिर्तामोडमा जागरण सभा गरेको छ । बिर्तामोडका तीन अलग–अलग स्थानबाट शान्तिपूर्ण निकालिएको र्याली बिर्तामोड–५ स्थित सिटी सेन्टर अगाडि आएर जागरण सभामा परिणत भएको थियो ।
दिउँसो १२ः४५ बजे बिर्तामोड–१ स्थित पश्चिम स्टेण्डबाट राष्ट्रिय सभा सदस्य एवं पार्टी पोलिटब्युरो सदस्य देवेन्द्र दाहालको नेतृत्वमा र्याली सुरु भएको थियो । र्यालीमा जिल्ला इन्चार्ज रोमनाथ ओली, विभिन्न तहका पार्टी पदाधिकारी तथा कार्यकर्तासहित सभास्थलमा पुगेको थियो ।
र्यालीमा सहभागीले ‘प्रतिगामी षड्यन्त्र मुर्दावाद’, ‘विघटित प्रतिनिधिसभा पुनस्थापना गर’, ‘२३ र २४ को अपराधिक घटनाको निष्पक्ष छानबिन गर’, ‘तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर’, ‘नेकपा एमाले जिन्दावाद’, ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’, ‘वीर सहिदहरू अमर रहून’ जस्ता नारा लगाएका थिए । र्याली मुक्ति चोक हुँदै सिटी सेन्टर पुगेर सभामा परिणत भएको हो ।
त्यस्तै सोही समयमा बिर्तामोड–४, भद्रपुर रोडस्थित नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्र अगाडिबाट अर्को ¥याली सुरु गरिएको थियो । पार्टीका केन्द्रीय सदस्य हरि राजबंशीको नेतृत्वमा, प्रदेश कमिटी सदस्य अमृतलाल राजबंशी सहित एमालेका नेता तथा कार्यकर्तार्यालीमा सहभागी थिए ।
यता बिर्तामोड–५ स्थित शनिश्चरे रोड ट्याक्सी स्टेण्डबाट तेस्रो र्याली सञ्चालन गरिएको थियो। पार्टी स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेलको नेतृत्वमा, केन्द्रीय सदस्य रबिन कोइराला सहितका नेता तथा कार्यकर्ता ¥यालीमा सहभागी थिए । र्याली मुक्ति चोक हुँदै सिटी सेन्टर अगाडि आएर जागरण सभामा परिणत भएको छ । सभामा केन्द्रीय नेतृत्व सहितका नेताले सम्बोधन गरेका थिए ।


















