बिर्तामोड ।
अलैंची किसान, उत्पादन, बजारीकरण र व्यवसायीलाई कोशी प्रदेश सरकारले सक्दो सहयोग गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । अलैंची उत्पादनमा कोशी प्रदेश सरकारले नीतिगत हुने सवै प्रकारका सहयोग गर्ने मुख्यमन्त्री कार्कीले प्रतिवद्धता गरेका हुन् ।
नेपाल अलैंची व्यवसायी महासंघको झापाको बिर्तामोडमा आज (शनिवार) भएको ९ औं साधारणसभा तथा ५ औं अविधेशन कार्यक्रममा प्रमुख अतिथिको सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

‘अलैचीं किसानको साथमा योजना बनाएर अगाडि वढ्नुस्’ मुख्यमन्त्री कार्कीले भने ‘प्रदेश सरकार तपाईहरुको साथमा छ ।’ किसानसहित व्यवसायीले अलैंचीमा उत्पादन वढाउने, व्यवसाय प्रर्वद्धन गर्ने र बजारीकरणमा प्रदेश सरकारले नीतिगत निर्णयहरु, कानुनी व्यवस्थाहरु, वजेटको व्यवस्था, संरचनाको विकासका लागि सक्दो सहयोग गर्ने मुख्यमन्त्री कार्कीले प्रतिवद्धता जनाएका छन् ।
नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट किसान, व्यवसायी, जिल्ला, निर्यातकर्ता, कर्मचारीलाई सम्मानसमेत गरिएको थियो । उत्कृष्ट किसान विदुर तिवारी, उत्कृष्ट व्यवसायी रोशनलाल अग्रवाल, उत्कृष्ट जिल्ला संखुवासभा, उत्कृष्ट निर्यातकर्ता ओमकृष्ण विमली, उत्कृष्ट कर्मचारी अनिल ढुङ्गाना र रिमा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । सोही कार्यक्रमकाबिच महासंघले अलैंची किसान, व्यवसायीका लागि उपयोगी ‘अलैचीं’ नामक पुस्तकसमेत बिमोचन गरेको छ ।
कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै अध्यक्ष भट्टराईले प्रतिवेदन पनि प्रस्तुत गरेका थिए । अध्यक्ष भट्टराई प्रस्तुत गरेको प्रतिवेदन अनुसार हाल १६ वटा जिल्लामा समिति गठन भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको विशिष्ठ आतिथ्य रहेको कार्यक्रममा महासंघका संस्थापक तथा संरक्षक राजेन्द्रकुमार घिमिरे, महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिइ सदस्य राजकुमार कार्कीलगायत उद्योगी व्यवसायीलगायतको बाक्लो सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघका महासचिव नारायणप्रसाद चिमरियाले गरेका थिए ।
२०६४ मा स्थापना भएको महासंघको आजको अधिवेशनले ३ वर्षे कार्यकालका लागि ३७ सदस्यीय कार्य समिति चयन गर्ने जनाइएको छ ।


















