झापा ।
नेकपा (एकीकृत समाजवादी) ले झापाका १५ वटै पालिकामा विपन्न आवास पुर्नरनिर्माण अभियान सञ्चालन गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसर पारेर आज (बुधवार) भद्रपुर नगरपालिकाबाट अभियान शुरु गरिने भएको छ ।

अभियान अन्तरगत झापाका प्रत्येक पालिकामा एक÷एक वटा विपन्नको आवास पुर्नरनिर्माण गरिने पार्टीका युवा नेता तथा अभियान संयोजक वासु दुलालले जानकारी दिए । उनका अनुसार आज भद्रपुरबाट अभियानको उद्घाटन गरी निरन्तरता दिइनेछ ।
नेकपा एस झापाको आयोजनामा शुरु गरिने अभियानको उद्घाटन पार्टीका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज पुष्प पोखरेलले गर्ने बताइएको छ ।
उद्घाटन कार्यक्रममा नेकपा एस झापाका अध्यक्ष विपी भट्टराईसहित केन्द्रिय सदस्य, प्रदेश सदस्य, नगर कमिटी, वडा कमिटी साथै पार्टीका नेता तथा कार्यकर्ताको सहभागीता रहने बताइएको छ । ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मुल नाराका साथ अभियान शुरु गरिएको अभियान संयोजक दुलालले बताए ।
आज देशभर नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस मनाउने भएका छन् ।