विर्तामोड । 

नेपाली कांग्रेसका संस्थापक सभापति एवं समाजवादी दर्शनका प्रणेता महामानव विपी कोइरालाको ४३ औं स्मृति दिवस देशभर विविध रचनात्मक कार्यक्रम गरी मनाइएको छ ।

नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादी विचार प्रवाह गरेका  विपी कोइरालाले नेपाली साहित्यमा मनोवैज्ञानिक दर्शन मार्फत समाज सुधार, जनअधिकार र समानताका विषय उठान गरेका छन् । नेपाली राजनीति र नेपाली साहित्यमा उत्तिकै उचाई हासिल गर्न सफल वि।पी।को दर्शनका विषयमा स्मृति दिवसको अवसर पारेर चर्चा–परिचर्चा गरिएको छ ।

यही दिवसको सन्दर्भमा नेपाली कांग्रेस विर्तामोड ५ नम्बर वडा समिति आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा ५ सय ३० बढीले  सेवा लिएको बताइएको छ । 

यसै दिवसको सन्दर्भ पारेर नेपाली कांग्रेस भद्रपुर नगर समिति र विपी स्मृति प्रतिष्ठान झापाको आयोजनामा भद्रपुर–१० स्थित विपीको शालिक परिसरमा विचार गोष्ठी कार्यक्रम भएको नेपाली कांग्रेस प्रचार विभाग प्रमुख रश्मिशेखर सुवेदीले जानकारी दिए ।

यसैबीच नेपाली कांग्रेस झापा गाउँ समितिले विचार गोष्ठी, नेपाल प्रजातन्त्र सेनानी संघ झापाले विचार गोष्ठी, नेपाली कांग्रेस झापा क्षेत्र नं–५, प्रदेशसभा ख को आयोजनामा दमक अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरिएको बताइएको छ । 

यसै दिवसको सन्दर्भ पारेर शिवसताक्षी वडा नं–६ ले शिवगञ्ज–धरहरा चोकमा विभिन्न जातका विरुवा रोपेको छ ।  नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको संयोजन र नेपाल तरुण दल अर्जुनधारा–७ नम्बर वडा समितिको आयोजनामा रक्तदान कार्यक्रम  २० पिन्ट रगत संकलन भएको बताइएको छ । नेपाली कांग्रेस हल्दिबारी गाउँ समितिले वि।पी। स्मृति दिवसको अवसर पारेर कालिका बन उपभोक्ता समितिको हाताभित्र फलफुल र अन्य विभिन्न जातका १५० विरुवा रोपेको छ । 

यसै सन्दर्भमा कनकाइ नगरपालिकास्थित विपी बन बाटिकामा विचार गोष्ठी सम्पन्न भएको छ । नेपाली कांग्रेस कमल गाउँ समितिको आयोजना र नेपाल विद्यार्थी संघ झापा र नेपाल खेलकुद संघ झापाको सहभागितामा स्थानीय साधुहोली सिमसार पर्यटकीय क्षेत्रमा विभिन्न जातका सयबढी विरुवा रोपेको छ ।  यसैबीच नेपाली कांग्रेस बुद्धशान्ति गाउँ समितिले स्थानीय भागिरथा न्यौपाने स्मृति अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको छ ।