बिर्तामोड  ।

ठूलो परिमाणको औषधीजन्य लागूऔषधसहित कामदारलाई मात्र सार्वजनिक गरिएकोमा विभिन्न संघ संस्थाहरुले त्यसका कारोबारीलाई पक्राउ गरी कारवाही गर्न प्रहरी प्रशासन समक्ष जोडदार माग गरेका छन् ।

गोदाम घरमा उपस्थित रहेका सहयोगी विनोद घिमिरेलाई मात्र नियन्त्रणमा लिएको र यसका धनी भानुभक्त खरेल फरार रहेकाले तत्काल उनलाई पक्राउ गरी कानुनी कारबाहीको लागि प्रहरी प्रशासन समक्ष माग गरेका हुन् ।

नेपाल औषधी व्यवसायी संघ झापाले प्रेस विज्ञप्ति जारी गरी सामाजिक विचलन र समाजलाई नै अधोगतितिर धकेल्न उद्यत सनलाइट फर्माका सञ्चालक खरेललाई तत्कालै पक्राउ गर्न र कानुनको कठघरामा उभ्याउन माग गरेको हो ।

त्यस्तै माओवादीनिकट योङ कम्युनिष्ट लीगले पनि प्रेस विज्ञप्ति जारी गरी लागूऔषधको मुख्य कारोबारीका रुपमा रहेका खरेललाई पक्राउ गर्न प्रहरीले देखाएको उदासिनताप्रति गम्भीर आंशका पैदा भएको जनाएको छ ।

यदि यस्ता घटनामा दोषी उम्काउने तथा निर्दोष फसाउने खेल भएमा योङ कम्युनिष्ट लीग, नेपाल (वाइसीएल) बिर्तामोड नगर कमिटि सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।