हल्दीबारी। 

लोकतन्त्रवादी किसानहरुको संगठन नेपाल किसान महासंघ झापाको आयोजना र  नेपाली काँग्रेस हल्दिबारी गाउँ समितिको सहआयोजनामा  आईतबार २३ औं धानदिवस भव्यताका साथ मनाइएको छ।

 हल्दीबारी– ४ निवासी नेपाली कांग्रेस हल्दीबारीका उपसभापति होम चुडालको खेतमा बेठी (नौमती) एवं च्याब्रुङ बाजागाजासहित धानदिवस मनाइएको हो । चुडालको खेतमा खनजोत, बाउसे, बीउm उखेलेर  रोपाइँ गरी धान दिवस मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व महामन्त्री,  पूर्व उपप्रधान तथा गृहमन्त्री वर्तमान राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले सयौँ नेता कार्यकर्ताको उपस्थितिमा धान रोपेर दिवसको उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सिटौलाले किसान मजदुरको जीवनस्तर माथि उठाउन नसकेसम्म राष्ट्रको समृद्धि हुन नसक्ने धारणा राखे ।  नेपालमा असी प्रतिशत मानिस कृषिमा निर्भर रहेको तथ्याङ्क भएपनि बाँकी बीस प्रतिशत विभिन्न पेशामा आवद्ध मानिस समेत तिनै किसानका सन्तान भएकोले  कृषकहरुका लागि संविधानले गरेको व्यवस्था हुबहु कार्यान्वयन हुनु पर्नेमा जोड दिए ।

 किसानहरूले समयमा मलखाद नपाएर भोगिरहेका समस्या अन्त्यका लागि देशमै रासायनिक मल कारखाना खोल्न सरकारको ध्यान आकृष्ट गराइएको र अब मलखाद स्वदेशमै उत्पादन गरी कृषकहरुका आवश्यक्ता पूरा गरिने नेता सिटौलाको भनाइ थियो ।स्थानीय सरकारलाई कार्यकर्ता पाल्ने थलो मात्र नबनाई वास्तविक कृषकका समस्याहरु बुझ्न र उनीहरूसम्म आवश्यक सेवाको पहुँच पुर्याउन प्रमुख अतिथि सिटौलाले ध्यानाकर्षण समेत गराए ।

नेपाल किसान महासंघ झापाका अध्यक्ष रतन थिङलाबोको सभापतित्वमा सम्पन्न कार्यक्रममा भौतिक पूर्वाधार तथा विकास मन्त्रालय कोशीका राज्यमन्त्री भूमिराज राजवंशी,  नेपाली कांग्रेस केन्द्रिय सदस्य शुशिला ढकाल आचार्य, गोमा भट्टराई, जिल्ला सभापति देउकुमार थेबे, उपसभापति शेर बहादुर भट्टराई, केशवराज पाण्डे, सचिव कृष्ण हुमागाईं, नवीन बिमली, कोषाध्यक्ष जलकुमार गुरुङ, महासमिति सदस्य सीता पौडेल, राधा सुब्बा, उर्मिला गौतम, शर्मिला अधिकारी, भुमादेवी घिमिरे, गणेश पोखरेल, कोशी प्रदेश समिति सदस्य मिरा खड्का, जिल्ला सदस्यहरु, नेपाल प्रेस युनियन केन्द्रीय सचिव रेजिना गौतम, नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनाली, प्रतिनिधि  तथा जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

करिब १० कठ्ठा खेतमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा भातृ संघ संगठनका प्रतिनिधिहरूले सामूहिक रोपाइँ गरेर  दही च्युरा खाई  २०८२ को धानदिवस मनाइएको  नेका झापा सूचना, संचार तथा प्रचार विभाग प्रमुख शेखर सुवेदीले जानकारी दिए ।