बनियानी ।
लोकतान्त्रिक व्यवस्था बिश्वकै उत्कृष्ट व्यवस्था भएकोले नेपालले निरंकुशता विरूद्ध लामो संघर्षपछि हासिल गरेको यो व्यवस्थालाई बलियो नबनाई मुलुक र जनताको हित र संमृद्धि हासिल हुन नसक्ने पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् संविधानसभा सदस्य कृष्णप्रसाद सिटौलाले बताएका छन् ।

आज (शुक्रबार) झापाको बानियाँनीमा कचनकवल प्राविधिक शिक्षालयको सिलान्यास गर्दै प्रमुख अतिथि सिटौलाले नयाँ व्यवस्थामा पुरानो सोचले काम गर्न नसक्ने दाबी गर्दै नयाँ चिन्तन र सोच अनिवार्य रहेको धारणा राखे। प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गरी युवाहरुको कार्य क्षमता र आम्दानी समेत बढाउने भएकोले स्वदेश वा बिदेश जहाँ रहे पनि यो अत्यन्त उपयोगी हुने बताए।
पूर्व प्रदेशसभा सदस्य वसन्त बानियाँले मुलुकमा विकासको गतिलाई अघि बढाउन साझा अवधारणा र सर्वपक्षीय सहकार्य महत्वपूर्ण हुने बताउँदै दिगो र सन्तुलित विकासका परिणाममुखी कार्यहरू ढिलै भए पनि थालनी भइरहेको प्रति संतोष व्यक्त गरे ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले वर्तमान शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने थलो भएको आरोप लागिरहेको अवस्थामा प्राविधिक शिक्षा रोजगारीमुलक विकल्प बन्न सक्ने विचार व्यक्त गर्दै यसले युवाहरुको विदेश पलायनलाई रोक्न मदत पुर्याउने बताए ।
कचनकवल प्राविधिक शिक्षालयका सहसंयोजक तथा पालिका उपाध्यक्ष नवराज भट्टराईले समाजवादको यात्रामा प्राविधिक शिक्षा कोशेढुंगा साबित हुने धारणा राख्दै यो प्राविधिक शिक्षालय यसभेकका लागि मात्रै नभई भोलिका दिनमा टाढा टाढा सम्मका लागि पनि आत्मनिर्भरताको बाटो बन्ने बताए ।
५६७० वर्ग फीटमा ४ करोड ७९ लाख २१ हजार २८५ रुपैयाँ लागतमा बन्ने यो बहुवर्षे योजना २०८२ आषाढ २ गते नेपाल सरकार सघन शहरी विकास तथा भवन निर्माण कार्यालय र खण्डपुर निर्माण सेवा बीच सम्झौता भै २०८४ जेष्ठ २० गते सम्पन्न हुने जानकारी गराइएको थियो ।
कार्यक्रममा शिक्षालयकालागि जग्गादाताहरु रतनलाल राजवंशी, फडिन्द्र दाहाल र गायक सबिन लिम्बूलाई सम्मान गरिएको थियो। नेका जिल्ला सभापति देउकुमार थेबे, सचिव कृष्ण हुमागाईं, भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, जिल्ला प्रहरी प्रमुख, सघन शहरी विकासका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
शिक्षालयका संयोजक तथा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत चिन्तामणि खरेल र सञ्चालन चेतन खतिवडाको रहेको रश्मिशेखर सुवेदीले जानकारी दिए ।