दमक । 

झापाको दमक नगरपालिकाले प्लाष्टिकजन्य फोहोर फालेर उजाड बनाएको वनमा माओवादी केन्द्र दमकले वृक्षारोपण गरेको छ । दमक–२ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा दमक नगरपालिकाले प्लाष्टिकजन्य फोहोर गाडेर उजाड बनाएको छ ।

जसले वातावरणमा गम्भीर असर पारेको छ । त्यहाँ नजिकै गन्हाएर जान सक्ने अवस्था छैन । त्यही ठाउँमा माओवादी केन्द्र दमक नगर कमिटीले दुई हजार फलफूलका विरुवा रोपेको हो । माओवादीले गत वर्षदेखि सुरु गरेको वृक्षरोपण अभियानलाई निरन्तरता दिँदै वृक्षरोपण गरेको हो ।

गत वर्षदेखि सुरु भएको वृक्षरोपण अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको माओवादी केन्द्र दमकले जनाएको हो । माओवादी केन्द्रले गत वर्ष विशेष अभियान नै बनाएर दमक क्षेत्रमा फलफूलका विरुवा रोप्ने तथा दमकबासीलाई विरुवा उपलब्ध गराउँदै आएको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले बताए ।

उनका अनुसार यस वर्ष पनि १७ जेठदेखि फलफूलका विरुवा रोप्ने र वितरण गर्ने अभियानलाई निरन्तरता दिइएको हो । एक हप्तामा १२ हजार फलफूलका विरुवा वितरण तथा रोपन गरिएको अध्यक्ष बस्नेतले बताए । ‘दमक नगरपालिकाले हम्सेदुम्से वन क्षेत्रमा फोहोर फाल्छ । त्यहाँ फोहोरका कारण पर्यावरण नै बिग्रिएको छ ।

तसर्थ, हामीले सुरु दिननै त्यहाँ दुई हजार जामुन, अम्बा, कागतीलगायतका विरुवा रोपेका छौँ,’ उनी भन्छन्, ‘यसको संरक्षणमा हामी पनि लाग्छौँ । तर, यसमा सामुदायिक वन र स्थानीय सरकारले पनि साथ दिनुपर्छ । यसले केही वर्षमा उत्पादन दिन थाल्छ ।’

यस वर्ष पनि गत वर्षको जस्तै दमकमा प्रत्येक घरमा दुईवटा फलफूलका विरुवा दिइरहेको विरुवा संकलन समिति संयोजक समुन्द्र लामाले बताइन् । यस वर्ष आँप, लिची, कटहर, लटहर, बडहर, अमला, अम्बा, कागतीलगायतका विरुवा स्थानीयलाई उपलब्ध गराइँदै आएको उनले बताइन् । ‘पछिल्लो समय जलवायु परिवर्तनले पर्यावरणमा गम्भीर असर पारेको तसर्थ विद्यार्थीमा यसको चेता फैलाउन सके सबै घरमा पुग्छ भनेर हामीले यस वर्ष विद्यार्थीलाई विरुवा दिँदै आएका छौँ,’उनले भनिन् ।

नेकपा माओवादी केन्द्र दमकका अध्यक्ष बस्नेतका अनुसार यस वर्ष २५ हजार विरुवा वितरण गरिनेछ । अभियान सुरु भएको एक सातामा नै १२ हजार विरुवा वितरण गरिएको उनले बताए । एक महिनाभित्रमा १२ हजार विरुवा वितरण गरिसक्ने लक्ष्य रहेको उनले बताए । यो अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिइने उनले बताए ।

माओवादी केन्द्र गत वर्ष दमक क्षेत्रमा माओवादी केन्द्रले ५० हजार बढी फलफूला विरुवा वितरण गरेको थियो । ती विरुवाले अहिले उत्पादन दिन थालेको माओवादी दमक इञ्चार्ज बेदु गौतमले बताए । ‘उत्पादन दिने विरुवा रोप्दा परिणाम पनि आउँछ । तसर्थ, हामीले फलफूलका विरुवा वितरण गरेका हौँ,’ उनले भने, ‘गत वर्षको विरुवाले उत्पादन दिन थालेपछि हामीलाई उत्साहित बनाएको छ । आउने वर्षमा पनि हामी विरुवा वितरणको अभियानलाई निरन्तरता दिँदै जान्छौँ ।’