झापा । 

जनताको सर्वोच्चतालाई स्थापित गर्ने लोकतन्त्रको विकल्प कुनै व्यवस्था, संस्था या व्यक्तिमा नरहेकोले  लामो र निरन्तर संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्था निर्विकल्प रहेको नेपाली कांग्रेसका उपसभापति शेर बहादुर भट्टराईले बताएका छन् । 

उनले भने ’जनताको सर्वोच्चता माथि कोही हुन सक्दैन, ‘१७ औं गणतन्त्र दिवसको संदर्भमा नेपाली कांग्रेस कनकाई नगर समिति वडा नं ८ र ९ ले संयुक्त रुपमा आयोजना गरेको बृहद अन्तरकृया कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका भट्टराईले भने ‘कम्युनिष्टहरु र झिना मसिना दल नजन्मिदै कांग्रेस आन्दोलनमा थियो।’ नेपालको हरेक प्रजातान्त्रिक आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्दै  आएको र प्राप्त गणतन्त्र  कांग्रेस कै नेतृत्वबाट  हासिल भएकोले यसको रक्षा पनि कांग्रेस नै गर्ने बताए ।  

विशेष अतिथि नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले गणतन्त्र दिवसका दिन जनआन्दोलन भन्दै उफ्रने समूहलाई रैती आन्दोलनको संज्ञा दिँदै २०४७ सालको संवैधानिक राजतन्त्र सहितको  संविधानलाई उलंघन गरी महेन्द्रपथ अँगाल्दै आफू मन्त्रिपरिषदको अध्यक्ष बनेर जन निर्वाचित प्रधानमन्त्रीलाई जेल हालेकै दिन ज्ञानेन्द्र शाह आफैले राजतन्त्र समाप्त परेकोले त्यो फर्कन असम्भव भएको दाबी गरे ।

भूमि आयोग झापाका बिज्ञ सदस्य लक्ष्मी आचार्यले अन्तिम पटकका लागि बनेको आयोगले भुमिहिनहरुको समस्या समाधान गर्ने विश्वास दिलाए । यसै गरी नेका कनकाई नगर सभापति दुर्गा प्रसाईले  स्थानिय सरकारमा नेपाली कांग्रेसको  दर्हो उपस्थिति आवश्यक रहेको र जनताको निराशा चिर्न जनप्रतिनिधिहरुले पार्टीसंग समन्वय गरी विकास निर्माणको योजना र बजेट ल्याउनुपर्नेमा जोड दिए ।

नेका क्षेत्र नं २ का सभापति खगेन्द्र मैनालीले  कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै  देश कांग्रेस कै नेतृत्वमा बन्ने भन्दै पार्टीलाई आफ्नु घर सम्झेर बलियो बनाउनु पर्ने  धारणा राखे।अर्का वक्ता कनकाई वडा ८ का सभापति लिला बहादुर कटुवालले अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै पार्टीभित्र गुटको अन्त्य हुनुपर्ने विचार व्यक्त गरे ।

अन्तरकृयामा सहभागिहरु वीर बहादुर चौहान, चन्द्रमणि हुमागाईं, अमर बहादुर दर्जी, तेज कुमार गिरी, राजेन्द्र उप्रेती, सीताराम लुइँटेल, लेखनाथ दाहाल, चन्द्र निरौला, हरिनारायण पौडेल लगायत थिए ।

सहभागीहरुले कांग्रेस बलियो बनाउन आत्म समीक्षा गर्नुपर्ने, पदकालागि मात्र राजनीति गर्नु नहुने,नेतृत्वमा इमानदारिताको खडेरी पर्न दिनु नहुने, विगतका अन्तरकृयाका सुझाव कार्यान्वयन गर्नुपर्ने , कांग्रेसले कार्यकर्ताको संरक्षण गर्नुपर्ने, गठबन्धन  आवश्यक नभएको र संगठनको मजबुती लागि गाउँ, वडा र टोल सम्म प्रशिक्षण पुर्याएर सामाजिक सञ्जाल मार्फत फैलाइएका भ्रम निवारण गर्नुपर्ने बिषय उठाएका थिए ।

नेका कनकाई वडा ९ का सभापति गणेश उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण नेका कनकाई वडा ८ का सभापति लक्ष्मण जोएल श्रेष्ठले गरेको नेका झापा संचार विभाग प्रमुख शेखर सुवेदीले जानकारी दिए ।