कविता
भोटे कुकुर र हर्क बहादुर

मेरो घरमा एउटा भोटे कुकुर छ,
जो बिहान र बेलुका कारमा
मर्निङ वक र इभिनिङ वकमा निस्कन्छ ।
अनि हस्याङ फस्याङ गर्दै,
हर्क बहादुर भोटे कुकुरको नजिक आइपुग्छ ।
किन भने,
भोटे कुकुरसँगै हर्क बहादुर बाचिरहेछ ।
प्रत्येक साँझ घर पुगेर,
सुन्तलीका ती मायालु बोलीहरुमा
हर्क बहादुर भोटे कुकुर नै सम्झिन्छ ।
छोरा छोरीका बाबा भन्ने शब्द गुन्जिदा,
छोरा छोरीका कलेटी परेका ओठहरुमा
हर्क बहादुर भोटे कुकुरको दृस्य देख्छ ।
बिछ्यौनामा पल्टेर जून हेर्दै ताराहरु गन्दै गर्दा,
हर्क बहादुर भोटे कुकुरलाई डाइरिया हुदा,
आँगनी मै हेलीकप्टर आएर अस्पताल लगेको
कयौ पटक भएको गन्दछ ।
बिछ्यौनामा एक्लै बर्बराउछ,
र हर्क बहादुर सोच्छ मनमनै,
कति भाग्यमानी है प्यारो भोटे कुकुर
जस्ले आजसम्म
न त जुठेल्नु चाहर्नु परेको छ
न त साउने झरीमा रुझ्नु परेको छ ।
न त पौसको कठयाङ्ग्रीने जाडोमा
सडक पेटीमा कुङ्लिनु परेको छ,
न त नव बर्स पर्खिनु परेको छ,
न त दशै , तिहार कुर्नु परेको छ
न त घरको पिलर सर्दा र थिचिदा
भुस्याहा कुकुरहरु जस्तै भुक्नु परेको छ ।
साढेहरुले दिउँसै धानबारी ध्वस्त पार्दा
न त साढेहरुलाइ टोक्नु परेको छ ।
छैटीको रातमा भाबीले,
सुनौलो अक्षरले लेखेको हुनु पर्छ उस्को ललाटमा
नत्र उस्ले पनि जुठेल्नु चाहर्नु पर्थियो ।
अरु जस्तै गल्लीहरुमा पल्टिनु पर्थियो
होइन अझै हजुर निदाइसेको छैन ?
सुन्तलीको प्रस्नले हर्क बहादुर झसङ हुन्छ
बिछौना बाट फेरि माथी हेर्छ
जुनेली रातमा ताराहरु चम्किरहदा
काला बादलले आकास बिस्तारै ढाकेको देख्छ
घडी हेर्छ रातको तीन बजेको हुन्छ
हर्क बहादुर फेरि पनि भोटे कुकुर सम्झन्छ ।
किन भने,
भुइँमा उज्यालो खस्न नपाउदै
उ भोटे कुकुरका नजिक पुग्नु छ
भोटे कुकुर लाई मर्निङ वक गराउनु छ ।
राजु बराल
चन्द्रगढी, झापा