झापा । 

गृहमन्त्री रमेश लेखकमाथि चौतर्फी रुपमा राजीनामा दिन दबाब बढ्दै गएको छ । प्रतिपक्षी दलका नेताहरूले गृहमन्त्री लेखकको राजीनामा दिन माग गर्दै आएकाबेला आफ्नै पार्टीका नेतालेसमेत उनलाई राजीनामा दिन आग्रह गरेका छन् । सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा देखिएको भिजिट भिसा प्रकरणमा मन्त्री लेखकको चौतर्फी आलोचना भइरहेको छ । भिजिट भिसामा विभिन्न मुलुक पठाउन दैनिक ५० लाख रुपैयाँसम्म उठाएको घटनाले राजनीतिक बजार निकै तातेको छ ।  त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सुदन किरातीले पनि गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।  यता राष्टिय स्वतन्त्र पार्टीले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने धारण सार्वजनिक गरेको छ । 

तर, गृहमन्त्री लेखकले भने आर्थिक अनियमितता गरेको भए राजनीतिक जीवनबाटै राजीनामा दिने प्रतिक्रिया दिएका छन् । कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु भएको भन्दैमा समग्र मन्त्रालय नेतृत्व वा मन्त्रीहरूले राजीनामा दिनुपर्ने संस्कृति स्थापित गर्नु असम्भव रहेको उनको भनाइ छ ।

उनले सार्वजनिक वा राजनीतिक जीवनमा आफुले आर्थिक अनियमितता गरेको प्रमाणित भए पदबाट मात्र होइन, राजनीतिबाटै राजीनामा दिने बताउँदै आएका छन् । उनले १३ जेठमा बस्ने प्रतिनिधिसभा बैठकमा विस्तृत धारणा राख्न समय माग गरेको पनि बताएका छन् ।