झापा ।
नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको जिल्ला अधिवेशनमा खुकुरी प्रहार भएको छ । सो क्रममा चार जना घाइते भएका छन् । घाइते मध्ये दुई जना उपचारपछि घर फर्केका छन् भने दुई जनाको थप उपचारका लागि शनिबार काठमाडौं रिफर गरिएको छ ।

लमजुङ जिल्ला सदरमुकाम बेसीसहरमा भएको तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा एक पक्षबाट अर्को पक्षलाई खुकुरी प्रहार भएको हो । तरुण दलको संस्थापन पक्षका र इतर पक्षका तरुणहरूमाथि खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शी सहभागीहरूले बताएका छन् ।
घाइते हुनेमा बेसीसहर नगरपालिका–९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदिप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहेको घाइते किशोरजङ्ग बस्नेतले बताए । उनका अनुसार काँग्रेसका जिल्ला सभापति टकराज गुरुङ, जिल्ला सचिव कृष्णबहादुर अधिकारी र पूर्वक्षेत्रीय सभापति बृषराज गुरुङले हतियार प्रयोग गर्न उक्साएका हुन् ।
घाइतेमध्ये नेविसंघका केन्द्रीय सदस्य अधिकारीको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई प्रदेश अस्पताल लमजुङमा सामान्य उपचारपछि थप उपचारका लागि काडमाडौं रिफर गरिएको प्रदेश अस्पताल लमजुङका एचए गौतम पण्डितले बताए । उनका अनुसार खुशीजङ गुरुङलाई पनि रिफर गरिएको छ, दुवैको टाउकोमा समस्या देखिएको हुँदा सिटि स्क्यानका लागि रिफर गरिएको हो । अन्य दुई जना घाइते उपचार पछि र फर्किएकाछन् ।