झापा  । 

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको आज(मंगलबार) नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए ।  बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए । 

 उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए । पछिल्लो समय नेकपा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सल्लाहकार थिए । 

नेपाली भाषाका साहित्यकार समेत रहेका नेपालले पञ्चायतकालमा सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गरेका थिए ।उनको पार्थिव शरीर आर्यघाटतर्फ लगिएको छ । मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको पार्थिव शरीर आर्यघाटतर्फ लगिएको हो ।

नेकपा एमालेका नेता समेत रहेका नेपालको परिवारकै आग्रह अनुसार पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्ने निर्णय भएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

त्यस्तै, प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि श्रद्धाञ्जली सभामा उपस्थित नहुने भएका छन् । उनको सचिवालयका अनुसार परिवारकै इच्छा अनुसार श्रद्धाञ्जली सभा नहुने भएपछि ओली अन्तिम संस्कारमा सहभागी नहुने भएका हुन् ।