झापा  । 

पहिचानवादी शक्तिलाई एकीकरण गर्ने उदेश्यले चार वटा पार्टी मिलेर संयुक्त पहिचानवादी मोर्चा गठनलाई कोशी प्रदेशमा निरन्तरता दिइएको छ । चार वटा पहिचानबादी पार्टीहरुको एकीकरणपछि संयुक्त पहिचानवादी मोर्चा गठनलाई निरन्तरता दिइएको हो ।

 केपी पालुङ्वाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, डा. महेन्द्र लावतीले नेतृत्व गरेको पहिचानवादी मोर्चा, ज्ञानवहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी र डकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको पहिचानका लागि प्रदेश नम्वर १ पुनः नामाङ्कन अभियान समिति एकीकरण भएर संयुक्त मोर्चा गठन गरिदै आएको हो । 

यसैगरीमा शुक्रवार इलामा संयुक्त पहिचानवादी मोर्चा गठन गरिएको छ । संयुक्त पहिचानवादी मोर्चा इलाम जिल्ला संयोजन समिति इलामको संयोजकमा सन्तराम योङहाङ चयन भएका छन् । योङहाङको नेतृत्वमा ७७ सदस्यीय इलाम जिल्ला नेतृत्व सर्वसम्मत चयन भएको हो । 

समितिको सह–संयोजकमा दोर्जेमोक्तान तामाङ, शेरबहादुर लोक्ताम, तिलरुपा सबेनहाङ, रमेश नेम्बाङ, नरेन्द्र राई, सन्जिता पन्धाक, फुलमाया काफ्ले तामाङ सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्य सचिवमा अमृत तामाङ र सह–सचिवमा  कुमार फत्र लिम्बू, रणधोज खाम्दाक चयन भएका छन् । 

छरिएर रहेका पहिचानवादी शक्तिहरुलाई एकीकरण गर्ने र पहिचानको मुद्दालाई सशक्त रुपमा अगाडी बढाउने अभिप्रायले जिल्ला नेतृत्व चयनलाई तिब्र पारिएको पहिचानवादी नेताहरुको भनाई छ । 

सन्तराम योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा संयुक्त पहिचानवादी मोर्चाका संयोजक डकेन्द्र सिंह थेगिमको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा संयुक्त पहिचानवादी मोर्चाका सचिवालय सदस्य खगेन्द्र माखिम, नागरिक उन्मुक्ति पार्टीका संघीय अध्यक्ष ज्ञानवहादुर गुरुङ, संयुक्त पहिचानवादी मोर्चाका झापा संयोजक एलवी पालुङ्वा, मोरङ संयोजक रामकुमार नाल्वोलगायत केन्द्रिय स्तरका नेताहरुको उपस्थिति रहेको थियो । 

मोर्चाले तेह्रथुम, सुनसरी, मोरङ, झापा र इलाममा जिल्लास्तरी समिति गठन गरिसकेको र आज (शनिवार) पाँचथर र आइतवार ताप्लेजुङमा गठनसँगै अन्य जिल्लाहरुमा पनि मोर्चाको नेतृत्व चयन गर्दै जाने झापाका संयोजक एलबी पालुङ्वाले जानकारी दिएका छन् ।