• गोमा लुइँटेल 

बर्तमान समयमा बृद्ध बुवा आमालाई बृद्धआश्रम लगेर राख्ने चलन निक्कै बढेको देखिन्छ । मलाई बृद्धाश्रम जान त्यहाँका बुबा आमासँग भलाकुसारी गर्न एकदमै रमाइलो लाग्छ । उहाँहरुको भावना बुझ्न र दुःख सुखका कुरा सुन्न निक्कै उत्सुक हुन्छु । केहीदिन अगाडि पशुपति क्षेत्रमा रहेको आश्रम जाने मौका मिल्यो ।

 तर, यस पटकको बुबा आमासँगको भेटघाटमा निक्कै तितो अनुभव मिल्यो । अनि आफैं भित्र विश्लेषण गर्न बाध्य बनायो । वास्तवमा सन्तानको माया र स्याहारसुसार चाहिने बेलामा बुबाआमालाई किन छोराछोरीले आफूबाट टाढा राख्छन् ? 

यसो गर्नुको पछाडि कुनै  बाध्यात्मक परिस्थिति हुन्छ भने कतिपय जिम्मेवारीबाट पन्छिन खोजेको पनि देखिन्छ । आफ्नो बुवा आमालाई आश्रममा राख्ने सन्तानले समाजमा निक्कै सास्ती खेप्नु परेको पनि देखिन्छ । 

के यस्तो परिस्थिति सृजना हुनुमा सन्तान मात्रै दोषी छन् ? किन छोराछोरी जिम्मेवारीबाट पन्छिन खोज्दैछन् ? वास्तवमा यस्तो परिस्थिति एक्कासि छोराछोरीमा हुर्किने भन्ने कदापि हुन सक्दैन । छोराछोरीले बृद्धबृद्धा बुवा आमालाई समय दिन नसक्दा आवश्यकता अनुसार स्याहारसुसार गर्न नसक्ने कारण प्रमुख हुन सक्छ ।

अर्को प्रमुख कारण भनेको बाबुआमाको माया ममता पाउने बेलामा आफ्ना छोराछोरीलाई समय दिन नसकेर मन्टेश्वरी या होस्टेल राख्नु हो । जब छोराछोरीलाई स्याहारसुसार गर्ने बेलामा बाबुआमासँग समय हुँदैन र दिइनुपर्ने माया ममता दिइदैन भने त्यस्तो वातावरणमा हुर्किएका छोराछोरीले पनि समय दिन नसक्नुलाई गलत अर्थ लाउन हुँदैन । बच्चा बर्ष दिनको हुन नपाउदै मन्टेश्वरी भर्ना गरिदिने, राम्रो पढाउने मनसायले कक्षा १–२ देखि नै होस्टेल राखिदिने जस्ता प्रवृत्ति बढ्दै जाँदा बच्चाले पाउनुपर्ने माया ममता पाँउदैन भने उसले कसरी आफ्नो बुवा आमालाई दिनुपर्ने माया, ममता दिन  स्याहारसुसार गर्न सक्छ त?

अहिले समाजमा ब्याप्त रहेको अर्को नकारात्मक सोच के हो भने पैसा भए सबै थोक हुन्छ भन्ने नजिर हुनु हो । बच्चा बर्ष  दिन नपुग्दै आमाको काख र न्यानो छातीमा रमाउने बेलामा छोडनु पर्ने बाध्यता आउँछ भने आफ्नो भविस्य बनाउने बेलामा सन्तानले समय दिन नसकेर बृद्ध अवस्थामा आश्रममा राख्छन् भने त्यो उसलाई दिन नसकेको परिस्थितिको प्रतिफल हो । यदि उनीहरूले राम्रो स्याहारसुसार गर्दैनन् भने उनीहरूमा त्यो भावना बिकास गराउन नसक्नु हो । अभिभावकले आफ्नो परिस्थिति काबुमा राखेर न्युनतम ४ बर्ष छोराछोरीलाई दिन सक्दैनन् भने छोराछोरीले पनि बाबुआमालाई गरिने कर्तव्यबोध गर्न सक्दैनन् । बृद्धाश्रम र होस्टेल एका अर्काका परिपुरक भइसकेका छन् ।

आधुनिक समाजमा पैसा कमाउने होडबाजी चलेको छ । दुबै परिस्थितिमा पैसा भए धेरै कुरा हुन्छ भन्ने आशय लुकेको हुन्छ । तर, माया, ममता, संस्कार पैसाले किन्न पाइदैन, न कि पैसाले बदल्न नै सक्छ । पैसा कमाए सबैथोक हुन्छ र पाइन्छ भन्ने भ्रमले रुमल्लिएको आधुनिक समाजमा मानवीय संबेदना प्रायः हराइसकेको पाइन्छ । 

ठेगाना : शिवसताक्षी–११ दुधे, झापा 

हाल : महालक्ष्मी–४, ललीतपुर 

सम्पर्क फोन : ९८४४६३९८९०

Email : g.luitel.111@gmail.com