बिर्तामोड ।

 झापाको बिर्तामोडका व्यवसायीहरुले  बिना दर्ताका व्यवसायलाई कानूनी दायरामा ल्याउन वा नियन्त्रण गर्न माग गरेका छन् ।  बिर्तामोडमा  व्यवस्थित ब्यवसाय सञ्चालन सम्बन्धी एकदिने अन्तरक्रियाका कार्यक्रममा उनीहरुले त्यस्तो माग गरेका हुन् । 

राज्यको कानून अनुसार व्यवस्थित रुपमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरु कानूनी दायराभन्दा बाहिर रहेर व्यवसाय सञ्चालन गर्ने व्यवसायीका कारण समस्यामा परेको गुनासो आउन थालेपछि महिला उद्यमी संघ नेपाल झापाको आयोजनामा ब्यवस्थित व्यवसाय सञ्चालनबारे चिन्तन गरिएको थियो ।

राज्यको कानून मानेर सञ्चालित व्यवसायीले घरभाडादेखि स्थानीय तह, आन्तरिक राजश्व कार्यालयमा बुझाउने कर तथा कागजपत्र नमिल्दा हुने झण्झटका बाबजुद पनि ब्यवसाय सञ्चालन गरिरहेका ब्यवसायीहरु बिर्ता दर्ता सञ्चालनमा रहेका ब्यापार व्यवसायको मारमा परेको गुनासो पोखेका थिए ।

कार्यक्रममा बोल्दै व्यवसायीहरुले बिना दर्ताका व्यवसायलाई कानूनी दायरामा ल्याउन वा नियन्त्रण गर्न सुझाएका छन् । महिला उद्यमी संघ नेपाल झापाको आयोजना, बिर्तामोड उद्योग बाणिज्यको समन्वय तथा आन्तरिक राजश्व कार्यालय झापाको प्राविधिक सहयोगमा भएको अन्तरक्रियामा बिर्तामोड क्षेत्रका महिला उद्यमीसहित व्यवसायीहरुको सहभागिता रहेको थियो ।

विभिन्न क्षेत्रका व्यवसायी सहभागी अन्तरक्रियामा सहभागीहरुले स्वदेशी उत्पादन भन्दा विदेशी उत्पादनमा आकर्षित हुनु, खुल्ला सिमानाका कारण यहाँका व्यवसायमा परेको असर, कानूनी रुपमा व्यहोर्नु परेको झण्झट लगायतका सवालहरु उठाएका थिए ।

आयोजक महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष सर्मिला अधिकारीको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा सहभागीले उठाएका सवालबारे आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी डोरराज सुनुवारले स्पष्ट पारेका थिए । 

व्यवसायीहरुले उठाएका सवाललाई सम्बोधन गर्दै सूचना अधिकृत सुनुवारले सिमाना प्रवेश गरेपछि मात्रै आन्तरिक राजश्व कार्यालयले हेर्न पाउने जानकारी दिंदै सिमानाकाबाट कुनैपनि सामान आयातमा कर कार्यालयले केही पनि गर्न नसक्ने बताए । भन्सार कटेर आएपछि मात्रै आन्तरिक राजश्व कार्यालयले हेर्ने स्पष्ट पारे । बिना दर्ता सञ्चालित व्यवसायीलाई राज्यको दायरामा ल्याउन सहयोग गर्न व्यवसायीहरुलाई समेत अनुरोध गरेका सुनुवारले राज्य सञ्चालन, सम्मान तथा सन्ततीको भविष्य, आर्थिक पारदर्शिताका लागि पनि कर तिर्नु अनिवार्य रहेको बताए ।

अन्तरक्रियामा महिला सुरक्षा दबाब समुहकी अध्यक्ष शारदा रिजाल, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, महिला नेतृ रञ्जु प्याकुरेल, उमा पोखरेल, बोलो राजवंशी, भानुभक्त खनाल, पुनम अधिकारी, रुपेशजंग बेल्बासे, भुपेन्द्र भण्डारी लगायत बोलेका थिए ।

कार्यक्रमका सहभागीहरुले भारतबाट आफैं ल्याउँदा र बजारमा ल्याइएको कत्तिपय सामानको मूल्यमा दोब्बरले अन्तर हुँदा उपभोक्ताको आकर्षण भारतीय बजारमा बढेको धारणा राखेका व्यवसायीले नियमनकारी निकायको मौनताका कारण दर्ता बिनाका ब्यापार फस्टाएको भन्दै राजश्व कार्यालयको ध्यानकर्षण गराएका थिए । आयोजक संस्थाकी बरिष्ठ उपाध्यक्ष युनिता दवाडीले स्वागत तथा औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव दीपा श्रेष्ठले गरेकी थिइन् ।