काँकरभिट्टा । 

लोकतन्त्रको प्राप्ति पछि मुलुकमा उलेख्य प्रगति भएको, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ लगायतका क्षेत्रमा मुलुकले अग्र गति लिएको नेपाली काँग्रेस झापाका पूर्व प्रवक्ता तथा महाधिवेशन प्रतिनिधि लोकराज ढकालले बताएका छन् । 

नेपाली काँग्रेस झापाको संगठन सुदृढीकरण अभियान अन्तर्गत क्षेत्र नं.१ को  मेचीनगरमा  सोमबार आयोजित अन्तरक्रिया कार्यक्रमको सम्बोधनमा ढकालले लोकतन्त्र बिरोधीहरुले मुलुकमा केही भएकै छैन, सबैतिर नैराश्यता छ भनेर फैलाएको भ्रमको पछि नलाग्न आग्रह गर्दै आफ्नै वडा र गाउँको हिजो र आजको अवस्थालाई नियाल्नु पर्ने बताए।  उनले भने ‘लोकतन्त्रमा मात्र विकास र संमृद्धि सम्भव छ। निरंकुशतामा स्वतन्त्रता सहितको विकास असम्भव हुन्छ ।’

त्यसै गरी अभियानका १ नं. क्षेत्रका लागि जिल्ला प्रतिनिधि तथा पार्टी सचिव कृष्ण हुमागाईंले  सामाजिक  सञ्जालको दुरुपयोग गर्दै मुलुकमा राजा आउने हल्ला फिजाउनेका पछि नलाग्न आग्रह गरे । सामाजिक सञ्जालमा आउने भ्रमपूर्ण कुराहरूले समाजलाई गलत दिशातर्फ  डोहोर्याई रहेकोले  आधिकारिक सूचना, समाचार र बिषय हेर्नु, सुन्नु पर्ने बताए।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै क्षेत्रिय सभापति इन्द्र बहादुर बुढाथोकीले वैयक्तिक असन्तुष्टीले पार्टीप्रति नकारात्मक धारणा फैलाउनु नहुने भन्दै सही स्थान र समयमा आफ्ना असन्तुष्टी, गुनासा र बुझ्न नसकेका कुरा बारे स्पष्ट हुन आग्रह गरे।

नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरुले पार्टी संगठन बलियो बनाउन पहिला आफू प्रतिबद्ध, जिम्मेवार र सकारात्मक बन्न आग्रह गर्दै केन्द्रमा बसेर नेताले पार्टी बिगारे भन्नु भन्दा आफ्नु गाउँ, टोल, वडामा आफ्नु सङ्गठन बलियो पार्न लाग्नुपर्ने धारणा राखे । 

कार्यक्रम मेचीनगर–४ बाहुनडाँगी र वडा–१४  दुवागडीमा  आजै सम्पन्न भएको थियो । वडा सभापतिहरु क्रमशस् सागर कार्की र प्रेम न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरुले पार्टी र सरकारका गतिविधिका बारे प्रश्न उठाएका थिए । पार्टी नेतृत्वका गलत क्रियकलापको भागीदार आफू बन्नु परेको गुनासो गरेका थिए ।

यसरी अन्तरकृयामा भागलिने वडा नं ४ का सहभागीहरूमा कृष्ण ढुंगाना, मञ्जिता तामाङ, राजेश बुढाथोकी, होमनाथ शिवाकोटी, अनिश काफ्ले, हरिप्रसाद उप्रेती, जीवन दर्जी, किरण घिमिरे लगायतरहेका थिए । 

वडा नं १४ को अन्तरकृयामा डिल्लीराम भट्टराई,जमुना खरेल, नेसेर महमद, माधवराज काफ्ले, आरती प्रसाईँ, इशुब मोहमद, विश्व थापा, खड्गबहादुर बस्नेत लगायतले भाग लिएका सूचना, सञ्चार तथा प्रचार संयोजक शेखर सुवेदीले जानकारी दिए।