झापा ।
सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जनालाई पक्राउ गरेको छ ।

सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका हुन् । उनीहरूलाई भद्रकालीमा राखिएको छ । अहिलेसम्म ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडाले जनाएको छ ।
यता राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रम स्थलतर्फ जाँदै गर्दा गिरफ्तार भएका अध्यक्ष लिङ्देनसहित सबै नेताहरुको अविलम्ब रिहाइको माग गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बसेर राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आज (आइतवार) एक प्रेस बिज्ञप्ति जारी गर्दै सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार कुण्ठित भएको डहर गरेको छ ।

जारी बिज्ञप्तिमा भनिएको छ ‘ बैठकले सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट आजको लागि पार्टीद्वारा पूर्व निर्धारित कार्यक्रमस्थल बिजुली बजारतर्फ जाने क्रममा प्रशासनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरिनु आपतिजनक र दुर्भाग्यपूर्ण भएको बैठकले ठहर गरेको छ ।’
यसैगरी राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पनि आज पक्राउ परेका परेका बिज्ञप्तिमा उल्लेख छ ।
‘सरकारको यसप्रकारको रवैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको प्रष्ट छ’ बिज्ञप्तिमा भनिएको छ ‘अध्यक्ष र नेताहरु पक्राउको राप्रपा घोर निन्दा र भत्सर्ना गर्दछ, यसको सर्वत्र विरोध गरिनुपर्छ ।’
‘संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिन्छ भने राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्नेछ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्नेछ ।
राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्दाका पक्षमा अझ दृढ रुपमा अघि बढ्नेछ । साथै, चैत १५ गतेको तीनकुने घटनाको न्यायिक छानविन हुनुपर्ने र बन्दी बनाइएका वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, महामन्त्री डा. धवल शमसेर राणा लगायत सबै, नेता, कार्यकर्ताहरुको रिहाइको राप्रपा माग गर्दछ ।’ बिज्ञप्तिमा भनिएको छ ।