झापा । 

राजसंस्थापुनःस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजदेखि सशक्त आन्दोलन शुरु गर्दैछ। पहिलो दिनमै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने पूर्व घोषणा गरेको छ। रोक्न सुरक्षा निकायहरू सतर्क अवस्थामा छन्।

यसअघि राप्रपाले चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन आयोजना गरेको थियो । तर, उक्त प्रदर्शन अपेक्षाअनुसार प्रभावकारी हुन सकेको थिएन। त्यसपछि पार्टीले आन्दोलनलाई चरणबद्ध रूपमा निरन्तरता दिँदै सरकारलाई दबाबमा ल्याउने रणनीति अपनाएको हो।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले  राप्रपा सधैं शान्तिपूर्ण आन्दोलनमा विश्वास राख्ने भन्दै  हिंसा मार्गदर्शक नभएको बताए। सरकारले पनि अनावश्यक बल प्रयोग नगर्ने विश्वास राखे। पार्टीको योजना अनुसार आजको प्रदर्शन मध्यान्ह १२ बजे अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा विजुलीबजारबाट शुरु हुनेछ। त्यसपछि उनले प्रदर्शनको अगुवाइ गर्दै बानेश्वरस्थित निषेधित क्षेत्रतर्फ अघि बढ्ने तयारी छ। 

बालुवाटार क्षेत्रमा डा।प्रकाशचन्द्र लोहनी र भद्रकालीतर्फ विक्रम पाण्डेले नेतृत्व गर्ने सम्भावना छ। यद्यपि, आन्दोलनको रणनीतिमा अन्तिम समयमा केही परिमार्जन हुन सक्ने अनुमान गरिएको छ। राप्रपाका प्रदर्शनकारीले बानेश्वर, बालुवाटार र भद्रकाली क्षेत्रका निषेधित घेरा तोड्ने प्रयास गर्नेछन्। यस क्रममा सुरक्षाकर्मीहरूसँग धकेलाधकेल हुन सक्ने भए पनि पार्टीको कुनै ढुंगामुढा, तोडफोड वा आगजनी गर्ने योजना नरहेको राप्रपाको छैन।

निषेधित क्षेत्रतर्फको आन्दोलनका क्रममा केही शीर्ष नेताहरू स्वेच्छाले गिरफ्तारी दिन सक्नेछन्। अध्यक्ष लिङ्देनले पत्रकारहरूसँगको कुराकानीमा आफू पक्राउ पर्न तयार रहेको स्पष्ट पारेका थिए।

यता, सरकार भने आन्दोलनको प्रतिकारमा कठोर नीति अवलम्बन गर्ने तयारीमा देखिएको छ। गृह मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा निषेधित क्षेत्र उल्लंघन गर्न खोजे त्यसलाई सह्य नगरिने चेतावनी दिइएको छ। हिजो आन्दोलनबारे राप्रपाका ७ नेतालाई निर्मल निवास बोलाएर पूर्वराजा ज्ञानेन्द्र शाहले पनि जानकारी लिएका थिए।