भद्रपुर।

नेतृत्वलाई निरन्तर खबरदारी गरी सच्याउन दबाब दिन वडा र गाउँ तहको संगठन बलियो हुन आवश्यक रहेको नेपाली काँग्रेस केन्द्रीय सदस्य गोमा भट्टराईले बताएकी छन् । 

आज (शनिबार) कांग्रेसको १ महिने  संगठन  सुधार अभियान अन्तर्गत क्षेत्र नं. १ को भद्रपुर–९ मा आयोजित पार्टी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले गुनासाहरुलाई सुझावका रुपमा ग्रहण गरी संगठनका कमीकमजोरी सच्याउनु पर्ने धारणा राखेकी थिइन् ।

अभियानका प्रतिनिधि जिल्ला सचिव कृष्ण हुमागाईंले  कांग्रेस जस्तो मुलुक कै पुरानो, ऐतिहासिक र हरेक परिवर्तनको सफल नेतृत्वकर्ता पार्टीको सदस्य हुनुमा गौरव गर्नुपर्ने बताउँदै विचार, सिद्धान्त र दर्शन विहीन झुण्डहरुले फैलाएको बजार हल्लाको पछि नलाग्न आग्रह गरे । सामाजिक सञ्जालको दुरुपयोगले  छरेको भ्रमबाट निराश नहुन अनुरोध गर्दै कांग्रेस देशमा राजनीतिक स्थिरताको पक्षमा रहेको धारणा उनले राखे ।

क्षेत्रिय सभापति इन्द्र बुढाथोकीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सङ्गठन  बलियो बनाउन पार्टीप्रति इमान्दार हुन आवश्यक रहेको धारणा राखेका थिए। 

अन्तरक्रियाका सहभागीहरुले पार्टी संगठनलाई चुस्तदुरुस्त राख्न नेतृत्व तहले सुध्रिन आवश्यक रहेको, गुनासा र सुझावहरुको कार्यान्वयन हुनु पर्ने  धारणा राखेका थिए । 

यसरी अन्तरक्रियामा सहभागी हुनेहरूमा बिष्णुलाल राजवंशी, हुकुम दास प्याकुरेल, नरेन्द्र दाहाल, दिलकुमारी रूचाल, दुर्योधन कार्की, रामकृष्ण सापकोटा, समीर राजवंशी, खेमनाथ न्यौपाने, गोपाल श्रेष्ठ, विवेक घिमिरे, शाहिद हुसैन, कमलसिंह राजवंशी, चिरञ्जीवी भट्टराईलगायत  थिए । 

भद्रपुर–९ का सभापति  चेतनाथ  भट्टराईको सभापतित्वमा सम्पन्न अन्तरक्रियाको सहजीकरण चिरञ्जीवी भट्टराईले गरेको सूचना, संचार तथा प्रचार संयोजक शेखर सुवेदीले जानकारी दिए ।