झापा । 

नेपाली कांग्रेस झापाको एक महिने संगठन सुदृढ़ीकरण अभियान  अन्तर्गत १ नंबर क्षेत्रको मेचीनगर बाट अन्तरक्रिया कार्यक्रम आरम्भ भएको छ । शुक्रबार मेचीनगर–२ को बौद्ध मोडमा सम्पन्न वडा स्तरीय भेलाले गुनासालाई सुझावका रुपमा लिँदै  सङ्गठनलाई बलियो बनाउने सामूहिक प्रतिबध्दता प्रकट गरेका थिए ।

अन्तरक्रियालाई सम्बोधन गर्दै  प्रमुख अतिथि तथा अभियानका प्रतिनिधि, नेका जिल्ला सचिव कृष्ण हुमागाँइले  कांग्रेस ऐतिहासिक र लोकतन्त्रको संस्थापक र रक्षक पार्टी भएकोले यस पार्टीका सदस्यहरूले निराश हुनु नपर्ने धारणा राखेका छन्।  कांग्रेसको आधार भनेकै टोल र वडा भएकोले कांग्रेसले सङ्गठन बलियो बनाउन गाउँ गाउँमा अभियान चलाइरहेको बताए। मुलुकमा केही भएन भन्नेहरुलाई लक्षित गर्दै अभियानका प्रतिनिधि हुमागाईंले ३० बर्षे पञ्चायतकाल र यो अवधिमा शिक्षा, स्वास्थ, बाटोघाटो, यातायात, अर्थतन्त्र लगायतका क्षेत्रमा भएको तुलनात्मक विकासको उदाहरण प्रस्तुत गर्दै जीवन्त संगठनमा प्रतिस्पर्धा, मतविभेद, गुनासाहरु स्वभाविक हुने भएकोले यिनलाई सुझावका रुपमा लिनुपर्ने धारणा राखे । 

जिल्ला सदस्य तथा  वडाकालागि  जिल्ला प्रतिनिधि निरज घिमिरेले संगठन बलियो बनाउन सांगठनिक विचार, निष्ठा र क्रियाशीलता जरुरी हुने बताए।  क्षेत्रिय सभापति इन्द्र बूढाथोकीले आफु नबनी संगठन नबन्ने र संगठन नबनी समाज नबन्ने धारणा राख्दै सबैले आआफ्नो तह र तप्कामा रहेर संगठनका लागि काम गर्नुपर्ने बताएका छन् ।

अन्तरक्रियाका सहभागीहरू हरिकुमार श्रेष्ठ, घनश्याम दाहाल, हिम्मत क्षेत्री, कला सुब्बा,राजकुमार घिमिरे, विष्णु गदाईली, लक्ष्मी प्रसाद सत्याल, कृष्णप्रसाद रिजाल, माधव दुलाल, लक्ष्मीप्रसाद काफ्ले, राजकुमार घिमिरे, नरेन्द्र न्यौपाने लगायतले आ–आफ्ना जिज्ञासा र सुझाव राखेका थिए । 

वडा सभापति नरेन्द्रप्रसाद रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव प्रेम ढुंगानाले गरेको सूचना,संचार तथा प्रचार विभाग संयोजक शेखर सुवेदीले जानकारी दिए।