झापा ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीले आन्दोलनरत शिक्षकहरुको जायज माग पूरा गर्न आग्रह गरेको छ । मुलुकभरिका सामुदायिक विद्यालयका शिक्षकहरू आम शैक्षिक हडताल गरेर शिक्षा ऐन तुरुन्त जारी गरियोस् भन्दै विगत दुई हप्तादेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

नेकपा एस कोशी प्रदेशले प्रेस बिज्ञप्ति जारी गर्दै वर्तमान ओली नेतृत्वको सरकार शिक्षकहरूको जायज मागलाई पूरा गर्नुको साटो सामुदायिक विद्यालय शिक्षालाई ध्वस्त पार्न र शिक्षकहरूको मानमर्दन गर्नमा उद्दत देखिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘संविधान जारी भएको तीन वर्षभित्रमा शिक्षा ऐन जारी गरेर मुलुकको शिक्षा प्रणालीलाई व्यवस्थापन गरी निश्चित गोरेटोमा अगाडि बढाउनुको साटो शैक्षिक माफिया र कमिसन खोरहरूको प्रलोभन तथा उक्साहटमा परेर वर्तमान सरकार सामुदायिक शिक्षाको जिम्मेवारीबाट पन्छिएर उल्टै तमाम शिक्षक वर्गलाई लान्छित गर्ने दुष्प्रयास गर्दै आएको देखिन्छ ।’ मंगलबार जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
नेकपा एसले सरकारको उक्त रवैया र षडयन्त्रको घोर भत्र्सना र भण्डाफोर गरेको छ । सरकारले समयमै शिक्षकहरुको मागको सम्बोधन नगरेको कारणले एसइइ परीक्षाको उत्तर पुस्तिका परीक्षण गर्ने, विद्यार्थी भर्ना अभियान र कक्षा १२ को परीक्षामा व्यवधान पुग्ने भएकाले यथासिघ्र शिक्षा ऐन जारी गरी विगतमा शिक्षक महासंघसँग गरिएका सम्झौताहरूको आधारमा शिक्षकहरूको जायज मागहरुलाई यथोचित सम्बोधन गरेर सामुदायिक विद्यालय शिक्षाको विसङ्गतिहरूको दीर्घकालीन समाधान खोज्न सरकारलाई विशेष ध्यानाकर्षण गराएको छ । जारी बिज्ञप्तिमा नेकपा एस प्रदेश अध्यक्ष सरिता थापा खड्काले हस्ताक्षर गरेकी छिन् ।