धरमपुर ।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ४(क) को कार्यालय प्रयोजनका लागि निर्माण गरिएको भवनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार एक समारोहबीच गरेका छन्। प्रदेश पुनःसंरचनापछि निर्माण गरिएको यस प्रकारको कार्यालय सम्भवत कोशी प्रदेशमै पहिलो र मुलुकमै समेत पहिलो भएको शर्माले बताए।

भवन निर्माणका लागि मङ्गलबारे–पाँचगाछी सडक छेउको एक कठ्ठा जग्गा टंकप्रसाद बिमलीले आफ्ना जेठा छोरा स्व. काजी बिमलीको स्मृतिमा दान गरेका थिए। बिमलीको निधन २०६७ सालमा भएको थियो। उनी नेपाल विद्यार्थी संघको आन्दोलनमा सक्रिय थिए । बिमली परिवार पुस्तौंदेखि नेपाली कांग्रेसमा आबद्ध रहँदै आएको छ।

उक्त जग्गा तत्कालीन धरमपुर गाविसका पार्टी सभापति इन्द्रबहादुर कटवालको कार्यकालमा बिमली परिवारले साप्ताहिक पुराण लगाएर दान गरेका थिए। अहिलेको बजार मूल्यअनुसार उक्त जमिनको प्रतिधुर मूल्य दुई लाख रुपैयाँ रहेको अनुमान छ।

 भवन निर्माणमा झन्डै १८ देखि २० लाख रुपैयाँको लागत लागेको जनाइएको छ। दुई कोठा र दुई शौचालयसहितको भवनमा एकसाथ १०० जना अटाउन सकिन्छ।

उद्घाटन समारोह नेपाली कांग्रेस झापा ४(क) का सभापति विनोद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव निरज दुलालले गरेका थिए। कार्यक्रममा प्रदेशका करिब ८०० नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्मा भने, "राज्य पुनःसंरचनापछि कोशी प्रदेशको तर्फबाट नेपाली कांग्रेसको यो पहिलो कार्यालय भएको बताए । महामन्त्री शर्माले यो भवन सम्भवत मुलुककै पनि पहिलो भएको पनि बताएका थिए। 'यो भवन नेपाली कांग्रेसको स्मृति, योगदान र आशाको प्रतीक हो। यहाँको जग्गा दान गर्ने बिमली परिवारप्रति हामी आभारी छौँ। यो कार्यालय केवल पर्खाल होइन, यहाँबाट विचार र संगठनको ऊर्जा सृजना हुनेछ," शर्माले भने ।

उनले वर्तमान राजनीतिक परिस्थितिमा देखिएको जनअनास्थालाई तोड्न पार्टी संगठन बलियो बनाउनु आवश्यक रहेको बताए। "राजनीतिप्रति वितृष्णा बढिरहेको बेला यो समारोहमा यति धेरै कार्यकर्ता साथीहरूको उपस्थिति हुनु नै हाम्रो अभियान सफल हुँदै गएको संकेत हो," उनले थपे।

कार्यक्रममा विभिन्न नेता तथा स्थानीय कार्यकर्ताहरूले समेत भवन निर्माणमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै बिमली परिवारको योगदानको स्मरण गरेका थिए।

कार्यक्रममा भवन निर्माण सहयोगार्थ सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो। प्रदेश सभापति बिनो ढकालका अनुसार १०५ जना दातालाई सम्मानपत्र र दोसल्ला उडाएर सम्मान गरिएको हो।