बिर्तामोड । 

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई पुनर्रगठन गर्नु पर्ने बताएका छन् । जसका लागि बामपन्थी एकता गर्नु पर्ने उनको धारणा छ । नेपालमा बामपन्थी एकताको विकल्प नरहेको बताउँदै नेता खानालले नीति, सिद्धान्त र कार्यदिशाका आधारमा बामपन्थी एकता हुनु पर्ने धारणा राखे । टाउको जोड्ने र अंकमाल गर्ने एकताले देश बर्बादिमा गएको बताउँदै अब हुने एकता नीति, सिद्धान्त र कार्यदिशाका आधारमा हुनु पर्ने धारणा राखे ।

अहिलेपनि देशमा ५० प्रतिशत भन्दा बढी जनताको मत वामपन्थी पक्षमा रहेको छ नेता खनालले भने – अब आउने ८५ को चुनावमा बामपन्थी नेतृत्वले सोचेनन् भने यो नेतृत्वले देश दुर्भाग्यको खाडलमा हाल्ने पक्का छ । पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले अहिलेको मुख्य प्रतिस्पर्धी भनेकै नेपाली कांग्रेस भएको तर त्यही नेपाली कांग्रेससंग नेकपा एमाले लगायतका पार्टीका नेतृत्वले पुच्छर जोडेर हिँडेकाले देश बर्बादी तर्फ गएको आरोप लगाए ।

नेपाल अहिले दलाल पुँजीपति वर्गको खेलौना बनेको बताउँदै नेता खनालले मुलुकलाई सही दिशामा लान समाजवादको वाटो अवलम्वन गर्नु बताएका छन् । झापाको बिर्तामोड नगरपालिका –४ स्थित नेकपा (एकीकृत समाजवादी) को जिल्ला पार्टी कार्यालयको सभाहलमा पार्टी निकट समाजवादी प्रेस संगठन झापाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले तीन पक्षको कमजोरीका कारण तीनकुने घटना भएको टिप्पणी गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको महत्वकांक्षा , पूर्व पञ्चहरुको दिवा स्वप्ना र सत्तारुढ दलहरुको अकर्मण्यता र असक्षमताका कारण सो घटना भएको विश्लेषण गरेका हुन् । उनले त्यस दिन सुरक्षाको प्रवन्ध असाध्यै कमजोर रहेकोसमेत दावी गरे ।

 तीनकुने घटनामा आन्दोलनकारीहरुको अराजकता र सरकारको दमन दुवै देखिएको बताउँदै उनले एउटा पक्षलाई मात्र दोष दिन नमिल्ने प्रतिक्रिया दिए ।उनले सरकारले एकतर्फी दोष देखाएर उम्कन नमिल्ने भन्दै आफ्नो पार्टी न्यायिक छानबिन आयोग बन्नु पर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे । अहिले हरेक क्षेत्रमा दलाल पुँजीवादी हाबी हुँदै गएकोले सिंगो कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन र बामपंथी एकता गर्दै बैज्ञानिक समाजवादमा जानुको विकल्प नभएको उनको भनाई थियो ।