बिर्तामोड । 

गोमेन्द्र बहुमुखी महाबिद्यालयले २९ औं बार्षिकोत्सवका अवसरमा पूर्व फुटवल खेलाडीसहित छ जनालाई सम्मान गरेको छ । पूर्व खेलाडी रामदर्शन गुरुङलाई ‘गोमेन्द्र सम्मान’ गरिएको छ । महाबिद्यालयले आज (शनिवार) बिर्तामोडमा आयोजित बार्षिकोत्सवका अवसरमा गुरुङलाई ‘गोमेन्द्र सम्मान’ प्रदान गरेको हो । गुरुङलाई नगद २१ हजार १२१ रुपैयाँसहित सम्मान गरिएको छ । 

यसैगरी जयनारायण खनाल स्मृति पुरस्कार निता कुमाल, दाताराम शर्मा खनाल स्मृति पुरस्कार कृष्णप्रसाद अर्याल र अलबिना गुरुङ, गोबिन्द–इन्द्र स्मृति पुरस्कार अनामिका न्यौपाने, राधा सुवेदी पुरस्कार सन्देश भारतीलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको छ । 

महाबिद्यालयकी संस्थापक बुधमाया खनालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा एक्सेल डेभलपमेन्ट बैंकका प्रवन्ध निर्देशक डा. इन्द्रकुमार कट्टेल, महाबिद्यालयका प्राचार्य डा. रुपकप्रसाद खनाल, सह–प्राचार्य सरु भुर्तेल खनाललगायतले सम्मानीतहरुलाई सम्मान गरेको थिए । स्वागत बिद्यालयकातर्फबाट शिक्षक विकास कोइरालाले गरेको कार्यक्रममा बिद्यार्थीको तर्फबाट सभ्या गिरीले गरेकी थिइन् । 

महाबिद्यालयको गतिबिधिसहित कार्यक्रमको औचित्यमाथि प्रकाश क्याम्पस प्रमुख तथा प्राचार्य डा. खनालले पारेको कार्यक्रमको सञ्चालन शिक्षक शेखर पाण्डेले गरेका थिए । बार्षिकोत्सवका अवसरमा बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि डा. कट्टेल र एक्सल डेभलपमेन्ट बैंकमा एचआर हेड श्यामबाबु बोहोराले शुभकामना मन्तव्य राखेका थिए । महाबिद्यालयमा हाल ४९० जना बिद्यार्थी अध्ययनरत रहेका छन् भने शिक्षक कर्मचारी ४० जना रहेको बताइएको छ । 

कार्यक्रममा अभिभावक, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्य रहेको थियो भने बिद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।