झापा ।
यथास्थिति र प्रतिगामी षड्यन्त्रका विरुद्ध तथा गणतन्त्रको सम्वद्र्धन र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि समाजवादी मोर्चा नेपालले आज (शुक्रवार) काठमाडौंमा आयोजित वृहत् जनसभा भव्यतापूर्वक सम्पन्न भएको छ । ५० औं हजार जनताको सहभागितामा जनसभा सम्पन्न भएको मोर्चाले संयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै मोर्चाले जनाएको हो ।
विशाल जन सर्मथन र सहभागिताबाट अत्तालिएका पुनरुत्थानवादी र उच्छृङ्खल प्रतिगामी तत्वहरुले अराजकता सृजना गरेको मोर्चाले निष्कर्ष निकालेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को केन्द्रीय, काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाई सरोज नेपालको निजी निवास लगायतमा तोडफोड र आगजनी गर्न गरेको मोर्चाले जनाएको छ ।
मोर्चाद्धारा जारी बिज्ञप्तीमा भनेको छ ‘निजी, सार्वजनिक सम्पति र कान्तिपुर एंव अन्नपूर्ण पोष्ट लगायतका सञ्चार गृहमा समेत तोडफोड तथा आगजनी गरेका छन् ।’
यो उच्छृङ्खल र अराजक कार्यको मोर्चाले घोर भत्सना एंव निन्दा गर्दै उक्त कार्यमा संलग्न अपराधिक र आततायी तत्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कारबाही गर्न सरकारसँग मोर्चाले माग गरेको छ । साथै राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न सरकारसँग जोडदार मागसमेत गरिएको छ ।
जनताको शालीन, सक्रिय र उत्साहपूर्ण सहभागितालाई समाजवादी मोर्चा नेपाल हार्दिक आभारसहित धन्यवाद ज्ञापन गरेको छ । जारी बिज्ञप्तीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र नेकपा समाज पार्टीका अध्यक्ष महेन्द्रराय यादवले हस्ताक्षर गरेका छन् ।