दमक । 

नेकपा एमालेले चैत ३० गते झापाको दमकमा बृहत जनसभा गर्ने भएको छ । जनसभामा १ लाख जनता सहभागी गराउने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले जानकारी दिए।

आज (बिहीवार) दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले बृहत जनसभाको तयारी गरेको बताए। जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउदै प्राप्त उपलब्धी रक्षाका लागि सक्षम रहेको धारणा व्यक्त गरे । उनले नेकपा एमाले, नेपाली कांग्रेस उपलब्धी रक्षाका लागि चुप लागेर नबस्ने बताए।

पत्रकार सम्मेलनमा बोल्दै नेता राईले मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सल्वालाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको बताए। जादुमयी नम्बर, राजावादी र प्रतिगामीहरु मुलुकको विकल्प हुन नसक्ने उनको दावी छ । एमालेको मिसन ०८४ र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरुले अराजक गतिविधि बढाइएको उनको ठहर छ ।

नेकपा एमाले अहिले पार्टी सुदृढ एवम् बलियो आधार तयार गर्न परिचालन भइरहेको बेला अराजक तत्वहरुले मुलुकमा अवाञ्छित गतिविधिहरु गरेको आरोप छ ।

बृहत जनसभामा २ हजार स्वयमसेवक परिचालन गर्ने तयारी गरिएको छ । जनसभामा नेकपा (एमाले) का नेता, कार्यकर्ता र सदस्यहरु परिचालित हुने जानकारी दिए। जनसभा तयारीका लागि नेता राईको संयोजकत्वमा जनपरिचालन कमिटी बनाइएको छ । प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षमा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीका नेता, कार्यकर्ताहरको सहभागिता रहेको थियो ।