गौरादह ।
नेपाली कांग्रेस कोशी प्रदेश संगठन विभागको आयोजना र झापा क्षेत्र नं–५ को संयोजनमा झापाको गौरादहस्थित विपी स्मृति भवनमा ५ नम्बर क्षेत्रस्तरीय अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
‘संगठनको वर्तमान अवस्था, चुनौति र निराकरणका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि देउकुमार थेवेले प्रत्येक वडामा महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यहरुलाई प्रतिनिधि बनाएर पठाइएपनि कतिपय वडामा प्रतिनिधि नपुगेको गुनासो आएपछि आफूहरु नै प्रतिनिधि भएर सबै वडामा पुग्ने अभियानमा रहेको बताएका छन् ।
नेपाली कांग्रेस झापाले संगठन चलायमान बनाउन एकमहिने संगठन सुदृढीकरण अभियान थालेको जानकारी दिदै उनले अभियानका क्रममा क्रियाशिल सदस्यता नवीकरणको अवस्था, प्रजातन्त्र सेनानीहरुसँग भेटघाट, वडाकेन्द्रित अन्तरक्रिया लगायतका कार्यक्रम गरिने स्पष्ट पारे ।
पार्टीका उपसभापति एवं एकमहिने अभियान अन्तरगत ५ नम्बर क्षेत्रका लागि जिल्ला प्रतिनिधि केशवराज पाण्डेले पार्टीको केन्द्र, प्रदेश र जिल्लाले सञ्चालन गरेका अभियानले पार्टीलाई चलायमान बनाएको बताउँदै टोल एवं वडातहको क्रियाशिलताले नै पार्टी बलियो हुने धारणा राखे ।
नेपाली कांग्रेस कोशी प्रदेश संगठन विभागका संयोजक मदन संग्रौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै झापाका पाँचवटै क्षेत्रमा क्षेत्रस्तरीय कार्यक्रम भएको र अन्तरक्रियामा प्राप्त सुझावहरुलाई लिपिबद्ध गरेर प्रदेश समितिलाई बुझाइने जानकारी दिए।
संग्रौलाकै सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत ५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी र सञ्चालन राजु थापाले गरेका थिए। ५ नम्बर क्षेत्रभित्रका २१ वटा वडाका सभापतिहरुले संगठन सुदृढीकरणका समस्या, चुनौति बताउँदै सुझाव समेत राखेका थिए ।