दुधे ।
नेकपा माओवादी केन्द्र शिवशताक्षी नगरको दोस्रो अधिवेशन शनिबार दुधेमा सम्पन्न भएको छ । सो सभाको बन्द सत्रले वडा नम्बर १ का सामाजिक अभियन्ता दुर्गा नेम्बाङलाई आगामी तीन वर्षका लागि नगर अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको छ । नेकपा माओवादी केन्द्रको दोश्रो नगर अधिवेशन सतासीधाम सामुदायिक अध्ययन केन्द्रमा सम्पन्न भएको थियो ।
अधिवेशनले राजु दर्लाल, कचाली ताजपुरिया र भुवन राईलाई उपाध्यक्ष पदमा चयन गरेको छ । यस्तै धनकुमार ढकाललाई सचिव पदमा निर्विरोध चयन भए । यता भुवन सेन्दाङ र देविका खनाल सहसचिव मा चयन भए भने कोषाध्यक्षमा हेमबहादुर कार्की (सुमन) चयन भएका छन् ।
दोश्रो नगर सम्मेलन नेकपा माओवादी केन्द्रका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भयो । भट्टराईले १० वर्षसम्म पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै संगठन विस्तार र सर्वसाधारणलाई संगठित गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।
तत्कालीन सतासी धाम गाविसदेखि शिवशताक्षी नगरपालिकासम्म चारपटक नेतृत्व गरेका भट्टराई गाविस अध्यक्ष हुँदै लगातार तीनपटक नगर अध्यक्ष बनेका थिए । उनले सतासीधाम गाविसको पार्टी नेतृत्व सम्हाल्दा संगठनमा ८७ जना मात्र सदस्य थिए । तर अहिले शिवशताक्षी नगरमा ९२५ संगठित सदस्य रहेका छन् ।
विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निभाएका भट्टराई अखिल (क्रान्तिकारी) को झापा अध्यक्ष, तत्कालीन कोशी प्रदेश अध्यक्ष, केन्द्रीय समिति सचिव हुँदै पार्टीको कोशी प्रदेश सदस्यसम्म पुगेका थिए । उनले २०७० देखि शिवशताक्षी नगरको नेतृत्व प्रदान गर्दै आएका थिए ।
भट्टराई २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट नगर अध्यक्ष पदका उम्मेदवार बनेका थिए । २०७९ सालमा नेपाली कांग्रेससँगको गठबन्धनमा उपप्रमुखका उम्मेदवार भएका उनी संगठन निर्माणमा निरन्तर क्रियाशील रहे । पार्टीको नेतृत्व हस्तान्तरण गर्दै उनले नगरका नेता–कार्यकर्ता, समकालीन कमरेडहरू, शुभेच्छुकहरू र नगरवासीप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सह–इन्चार्ज अजम्बर काम्बाङ राईले संगठनलाई अझ सशक्त बनाउँदै जनतासँग जोडिनुपर्ने आवश्यकता औल्याए । उनले भने,‘अबको यात्रा स्थानीय तहमा संगठन सुदृढीकरणको हुनेछ । पार्टीले नेतृत्वलाई थप जिम्मेवारीसहित अगाडि बढाउनुपर्छ ।’
त्यस्तै, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व कृषिमन्त्री झलक सिंह दर्लामी मगरले वर्तमान राजनीतिक सन्धर्वमा पार्टीको भूमिका महत्वपूर्ण हुने भन्दै संगठनात्मक सुदृढीकरणमा सबै नेताहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए ।
कार्यक्रममा पार्टीका झापा इन्चार्ज तथा विद्यार्थी नेता रञ्जित तामाङले वर्तमान राजनीतिक अवस्था र विद्यार्थी आन्दोलनको भूमिकाबारे आफ्ना विचार राख्दै भने, ‘युवा पुस्तालाई संगठित गर्दै जनताको वास्तविक मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ ।’
सभाको पहिलो सत्र पार्टी नगर सचिव संजय राई (वाम्बुले) ले कार्यक्रमको सहजीकरण गरेका थिए । झापाको दुधेमा सम्पन्न यस ऐतिहासिक दोस्रो नगर अधिवेशनमा करिब ३०० प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अधिवेशनले संगठनलाई थप सशक्त बनाउँदै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।