झापा । 

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ ।  देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ  बिहान ८ बजेदेखि एसइई आरम्भ हुन लागेको राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षाको पूर्व निर्धारित तालिकाअनुसार पहिलो दिन परीक्षार्थीले अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा दिँदैछन् । 

यो वर्ष माध्यमिक शिक्षा परीक्षा एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुन लागेको बोर्डले जनाएको छ । गएको वर्ष २०८० को एसइईमा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका थिए । यस्तै, यस वर्ष परीक्षार्थी संख्या गत बर्ष भन्दा ४९ हजार २८६ जना बढी हो । 

१५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटाउने व्यवस्था मिलाइएको छ । ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिको बोर्डले जानकारी दिएको छ । 

चैत ८ गते अनिवार्य नेपाली विषय, गैर नेपाली विद्यार्थीहरूका लागि अङ्ग्रेजी (इलेक्टिभ इङ्लिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ । 

बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्क भन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् ।  लेटर ग्रेडिङ प्रणालीमै यस वर्षपनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।