धुलाबारी।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले संगठन सुदृढीकरणका लागि नेतृत्वलाई दोष थोपरेर मात्र नहुने, गाउँ र वडा स्तरबाटै आफ्ना गतिविधि बढाउन र क्रियाकलाप सच्याउन आग्रह गरेका छन् । 

 झापा क्षेत्र नम्बर १ को धुलाबारीमा बुधबार आयोजित संगठनको वर्तमान अवस्था चुनौती र निराकरणको उपाय विषयक पार्टीको अन्तरक्रियामा बोल्दै थेबेले सबै नेता कार्यकर्ताले आआफ्ना तह र तप्काबाट पार्टीको जिम्मेवारी पूरा गर्दा मात्र संगठनलाई मजबुत बनाउन सकिने धारणा राखे । 

 नेपाली कांग्रेस कोशी प्रदेश संगठन विभागको आयोजनामा सम्पन्न उक्त अन्तरक्रियामा महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला, क्षेत्रीय,प्रदेश, नगर समिति पदाधिकारी तथा क्षेत्र नम्बर १ का २१ वटा वडाका वडा सभापतिहरु भातृ  तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरुले अन्तरक्रियामा भाग लिएका थिए। 

संगठन सुदृढीकरणका लागि अवलम्बन गरिनुपर्ने उपायहरु गाउँ वडादेखि पार्टीमा देखिएका नैरास्यता र गुनासाहरूको समाधानको उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्रकाश पार्दै कोशी प्रदेश संगठन विभाग प्रमुख तथा कार्यक्रम का सभापति मदन संग्रौलाले सुझाव र गुनासाहरुलाई संकलित गरेर केन्द्रमा पठाइने जानकारी दिए ।  

प्रदेश सांसद गोपाल तामाङले आफ्नो क्षेत्रमा भएका विकास निर्माण र सांगठनिक क्रियाकलापहरूलाई प्रस्तुत गर्नुपर्ने बताए। नैराश्यता र नकारात्मक चिन्तन हावी हुनु संगठनका लागि राम्रो कुरा नभएको भन्दै सकारात्मक सोचले अगाडि बढ्न आग्रह गरे । 

जिल्ला पार्टी कार्यालय झापाको एक महिने अभिमुखिकरण अभियान क्षेत्र नम्बर १ का प्रतिनिधि तथा जिल्ला पार्टी सचिव कृष्ण हुमागाईंले  सामाजिक सञ्जालमा फैलाइएका दूषित हल्लाहरू जस्तो कांग्रेसको अवस्था नरहेको र संगठन विस्तार निरन्तर भइरहेको र संगठन चलायमान रहेको बताए।  शुभेच्छुक संघसंस्था समन्वय विभागका संयोजक समेत रहेका हुमागाईले भर्खरै सम्पन्न विद्यार्थीहरुको निर्वाचनमा झापाका १३ वटा क्याम्पसमध्ये नेपाल विद्यार्थी संघले नौ वटा क्याम्पसमा हासिल गरेको विजय सबैका लागि  उत्साहप्रद रहेको बताए।

 कार्यक्रममा क्षेत्र नम्बर १ मा रहेको काँकरभिट्टा बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित  नेबि संघका सुरज राई नेतृत्वको विद्यार्थी समूहलाई सम्मान गरिएको थियो। 

कार्यक्रम संयोजक तथा क्षेत्रीय प्रतिनिधि इन्द्रबहादुर बुढाथोकीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कोशी प्रदेश संगठन विभागका सचिव राजु थापाले गर्नुभएको नेपाली कांग्रेस झापा सूचना सञ्चार तथा प्रचार संयोजक शेखर सुवेदीले जानकारी दिए।