धरमपुर ।
झापाको शिवसताक्षी नगरपालिका–१ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण तथा अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयमा आइतबार आयोजित विशेष समारोहका बीच स्वर्गीय नरबहादुर थापा र तारादेवी थापाको स्मृतिमा स्थापित अक्षय कोषबाट कक्षा १२ मा उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिएको थियो । २०८० सालको माध्यमिक तहको अन्तिम परीक्षामा सर्वाधिक जिपिए हासिल गर्ने सुवर्णा लिम्बु र सन्देश आचार्यलाई जनही रु. ५ हजार र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र लम्झेलले जानकारी दिए ।
त्यसैगरी, विद्यालयका पूर्व सहायक प्रधानाध्यापक माधवप्रसाद भण्डारीद्वारा स्थापित अक्षय कोषबाट कक्षा ८ मा उत्कृष्ट अंक प्राप्त गर्ने सिकम चेम्जोङ र सहारा खड्कालाई जनही रु. ५ हजार नगद प्रदान गरिएको थियो । साथै, सोही कोषबाट कक्षा १२ का सुवर्ण लिम्बु र सन्देश आचार्यलाई पुनः छात्रवृत्ति प्रदान गरिएकोे विद्यालय प्रशासनले जनाएको छ । पुर्व सहायक प्रधानाध्यापक भण्डारी द्वार स्थापित पुरस्कार कक्षा ८ र १२ का विद्यार्थीले पाउने व्यवस्था छ ।
विद्यालयको लेखा तथा सुपरिवेक्षण शाखाका अनुसार २०७८ सालमा स्थापना भएको स्वर्गीय नरबहादुर थापा र तारादेवी थापाको स्मृतिमा स्थापित अक्षय कोषमा हाल ५ लाख रुपैयाँ सञ्चित रहेको छ भने माधवप्रसाद भण्डारीद्वारा स्थापित कोषमा ३ लाख रुपैयाँ रहेको छ ।
छात्रवृत्ति वितरण समारोहमा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा (रोशन), अक्षय कोष सञ्चालन समितिका अम्बरबहादुर थापा, माधवप्रसाद भण्डारी, विद्यालयका प्रधानाध्यापक खगेन्द्र लम्जेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर खवासलगायतको उपस्थिति रहेको थियो ।
नगरप्रमुख थोप्राले सामुदायिक विद्यालयमा विभिन्न क्षेत्रका समाजसेवीहरूले स्थापना गरेका अक्षय कोषहरू विद्यार्थीको शैक्षिक प्रोत्साहनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए ।
कार्यक्रमकै क्रममा अन्तर–माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भयो । प्रतियोगितामा शिवसताक्षी नगरपालिकाका विभिन्न वडामा रहेका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा ‘युवा तथा बौद्धिक व्यक्तित्व विदेश पलायन हुनु रहर कि बाध्यता’ विषयमा विद्यार्थीहरूले आफ्नो वाककौशल प्रस्तुत गरेका थिए । अधिकांश विद्यार्थीहरूले नेपालमा बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको अभाव, साथै राज्यसत्ताको असक्षमताका कारण नेपाली युवाहरू विदेश जान बाध्य भएको तर्क प्रस्तुत गरे ।
प्रतियोगितामा भानु माध्यमिक विद्यालय, शिवसताक्षी–७ लालझोडाकी कञ्चन काफ्ले प्रथम भइन् । भानु माध्यमिक विद्यालय, शिवसताक्षी–३ पाराबारीका प्रविण आचार्य द्वितीय, भगवती माध्यमिक विद्यालय, शिवसताक्षी–७ बैंङडाँडाकी प्रेसिका खनाल तृतीय तथा मोती माध्यमिक विद्यालय, शिवसताक्षी–२ मङ्गलबारेका अंशु चौलागाईं सान्त्वना स्थानमा रहन सफल भए । प्रथम, द्धितिय र तृतिय हुने कक्षा ९ का छात्र छात्रा हुनु भने सान्त्वना हुने कक्षा ११ की छात्रा हुन् ।
विजयी विद्यार्थीहरूलाई नगरप्रमुख मेगाहाङ थोप्राले क्रमशः रु. ८ हजार,. ६ हजार, ४हजार र २ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षा क्षेत्रमा सरोकार राख्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर खवासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक खगेन्द्र लम्झेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक प्रकाश सुवेदीले गरेका थिए ।
सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै समाजलाई शिक्षामा आकर्षित गराउने उद्देश्यसहित सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई थप प्रेरित गर्ने विश्वास विद्यालयका प्रधानाध्यापक लम्जेलले गरेका छन् । नगरप्रमुख थोप्राले पनि सामुदायिक विद्यालयहरूलाई शैक्षिक रूपमा सशक्त बनाउन आगामी दिनमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
शिवसताक्षी नगरपालिकाको शैक्षिक उन्नयनमा यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गर्दै सहभागी सबै पक्षहरूले यस्ता पहललाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।