झापा । 

गौरीशंकर माध्यमिक विद्यालय बाह्रदशी – ७ झापाले आफ्नो ६६ औं बार्षिकोत्सव मनाएको छ ।कोशी प्रदेश सभा सदस्य छविलाल चुडालको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रवहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच विद्यालयले बार्षिकोत्सव मनाएको हो ।

 विद्यालयले वार्षिकोत्सवको अवसर पारेर ज्येष्ठ अभिभावक, अभिभावक र उत्कृष्ठ शिक्षकलाई सम्मान गरेको छ भने विद्यार्थीलाई विभिन्न विधामा पुरस्कृत गरेको हो ।  

ज्येष्ठ अभिभावका रुपमा हिरा कुमारी राजवंशी र दिलवहादुर कार्कीलाई सम्मान गरेको हो ।त्यस्तै अभिभावक तर्फ मीना आचार्य, विमला राजवंशी , पूजा मुर्मू र दिपा उप्रेतीलाई सम्मान गरेको हो । यता शिक्षक तर्फ नेत्र प्रसाद पौडेल र हेम सागर कट्वाललाई सम्मान गरिएको थियो ।

अनुसासित विद्यार्थीका रुपमा  लोकराज राजवंशी, रोजिना राजवंशी, सरसफाई तर्फ हेमन्त पण्डित, सुशीला हेमरमलाई पुरस्कृत  गरिएको थियो । नियमित विद्यालय आउने विद्यार्थीका रुपमा आदित्य पौडेललाई पुरस्कृत गरिएको थियो ।उत्कृष्ठ अंक ल्याउने हेमन्त पण्डित, पूजा पण्डितलाई पुरस्कृत गरिएको हो । एसइइमा उत्कृष्ठ अंक ल्याउने टेकनाथ सोरेन, सेविका निरौलालाई पुरस्कृत गरिएको थियो । कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउने इश्वर मुर्मू र वनिता कार्कीलाई पुरस्कृत गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले विद्यालयको शैक्षिक गतिविधिका विषयमा प्रकाश पारेको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक हेम राजवंशीले गरेका थिए ।कार्यक्रममा वाह्रदशी गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष रत्नाकुमारी राजवंशी, वाह्रदशी गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष मित्रराज भट्टराई, वाह्रदशी गाउँपालिका पूर्व शिक्षा शाखा प्रमुख ज्ञानवहादुर पौडेल लगायतको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेको कार्यक्रममा मार्च पस समेत गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लोचन कुमार गुरागाईले गरेका थिए ।  यस अघि विद्यालयले एक दिवसीय मैत्रीपूर्ण फूटवल प्रतियोगिताको समेत आयोजना गरेको थियो ।