चन्द्रगढी ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव बिप्लप सीले आगामी चैत्र १२ गते झापाको बिर्तामोडमा जनसभालाइ सम्बोधन गर्ने भएका छन् ।

जनतासँग  सम्बन्ध सुमुधुर बनाइ  जनताका आधारभुत मुद्दाहरुमा राज्यको ध्यान आकृष्ट गर्ने उद्देश्यले मेची महाकाली मार्चपास अभियानको उदघाटनका अवसरमा चैत १२ गते महासचिव बिप्लपले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा झापा अध्यक्ष सुमन सिंह सीले बताएका छन् ।  

यसैबिच नेकपा झापाको सोमबार बसेको बैठकले महासचिव बिप्लपको झापा आगमनलाइ ब्यवस्थित गर्ने उद्देश्यले जिल्लाका पालिका स्तरमा जिम्मेवारी बाडफाँड गरेको छ ।

पाँच हजार भन्दा बढी जनसहभागिता रहने जनसभामा झापाका ब्यवसायी, शिक्षक, कर्मचारी, चिकित्सक, बुद्दीजिबीसहित पाँच सय भन्दा बढी पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

जनसभाको पूर्व तयारीका लागि महासचिव बिप्लप चैत ३ गते झापा आउने भएका छन् । चैत्र ६ गते सम्म झापामा रहने महासचिव बिप्लपले उक्त समयमा शहिद परिवार, घाइते, अपाङ्ग, बेपत्ता पारिएका परिवार, ब्यवसायी, पेशाकर्मी, साहित्यकार, बुद्धिजिबीका साथै समाजबादी मोर्चा आबद्ध जिल्ला नेतृत्वसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यसका साथै झापाका पर्यटकीय स्थलहरुका अतिरिक्त भद्रपुर नगरपालिका वडा न ३ मा पर्ने मेची पारीको गाउँमा समेत महासचिव बिप्लपले स्थानीय जनतासँग भेटघाट गर्ने जनाइएको छ ।