झापा । 

नेकपा (माओवादी केन्द्र) ले आज (सोमवार) झापाबाट ‘जनतासंग माओवादी’ तराई मधेश जागरण अभियान शुरु गर्दैछ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज झापाको कचनकवलबाट अभियानको उद्घाटन गर्नेछन् ।

अभियान उद्घाटनका लागि उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत एक दर्जन नेताहरु शनिबार नै झापा आइसकेका छन् ।  आइतबार बिहान ९ः३० बजे कचनकवलस्थित नेपाल कै होचो भागमा रहेको स्तम्भमा झण्डोत्तोलन गर्ने, राजवंशी विकास भवनमा सहिद परिवारहरूसँग भेटघाट गर्ने र दिउँसो १२ बजे बनियानीमा आयोजित बृहत् जनसभाका बीच अभियानको उद्घाटन गरिने माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी) ले जानकारी दिएका छन् । 

आजै दिउँसो ३ बजे बाह्रदशी गाउँपालिकाको राजगढस्थित राजवंशी चोकमा आयोजित जनसभालाई पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने र त्यसपछि झापा गाउँपालिकामा आयोजित कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको झापा पार्टीले जनाएको छ । झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुने बताइएको छ । 

पुस २३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको संक्षिप्त समीक्षा, राष्ट्रिय परिस्थितिमा आफ्नो पार्टी नेतृत्वको सरकारले सुशासनको निम्ति भ्रष्टाचार विरुद्व अभियान सुरु गरेको र त्यही क्रममा भ्रष्टहरूले रातारात सरकार परिवर्तन गरेको निष्कर्ष निकालेको थियो । पार्टीको बैंठकले निष्कर्ष निकालेको थियो ।

मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति–कार्यक्रमलाई जनस्तरसम्म पुयाउने, माओवादी पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझाव सङ्कलन गर्ने, जनता र पार्टी नेतृत्वबिचको सम्बन्ध विस्तार गर्ने आदि उद्देश्यलाई केन्द्रविन्दु बनाएर अभियान राखिएको पार्टीले जनाएको छ ।