चन्द्रगढी ।

नेपाल शिक्षक महासंघ झापाले संघीय शिक्षा ऐन जारी हुनु पर्ने  प्रमुख मागसहित, शिक्षा, बिकास  तथा समन्वय इकाईमा  ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाल शिक्षक महासंघ र यसका सदस्य सङ्गठनहरुसँग शिक्षक, कर्मचारीका पेशागत मागहरुलाइ पूरा गर्न विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनका लागि शुक्रवार संघीय शिक्षा ऐन तत्काल जारी गर्न  पहिलो चरणको आन्दोलन अन्तर्गत ध्यानाकर्षण पत्र बुझाएको हो ।

शिक्षक, कर्मचारीका पेशागत मागहरुलाइ सम्बोधनका लागि संघीय शिक्षा ऐन जारी नगरिए फागुन २४ को महासंघको काठमाडौ केन्द्रीत आन्दोलन निर्णायक हुने शिक्षक नेताहरुले बताएका छन् ।

नेपाल शिक्षक महासंघका झापा अध्यक्ष नेत्र खरेलको अध्यक्षता र टीका खवासको सन्चालनमा सम्पन्न ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा पत्र ग्रहण गर्दै शिक्षा  बिकास तथा समन्वय इकाईका प्रमुख देबेन्द्रबहादुर मल्लले शिक्षक, कर्मचारीका पेशागत मागहरुमा आफ्नो ऐक्यबद्धता रहेको बताए ।

मधेसी शिक्षक संरक्षण मन्चका केन्द्रिय अध्यक्ष रमाकान्त चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि चौधरी, नेपाल शिक्षक संघका कोशी प्रदेश अध्यक्ष  तेजप्रसाद चम्लागाई, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन झापा अध्यक्ष रबिन मैनाली, राहत शिक्षक सङ्गठनका तेजप्रसाद खनाल, बिद्यालय कर्मचारीका बाल कृष्ण नेउपाने, बाल शिक्षकका देवी नेपाल र ज्ञानेन्द्र ढुङ्गानाले शिक्षक, कर्मचारीको अबको आन्दोलन निर्णायक हुने र त्यसले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउने धारणा राखेका थिए ।